‘देशको राजनीति लिकबाहिर गयो’

लोकपथ
195
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका छन् ।

उनले सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठीक ठाउँमा ल्याउनुपर्ने नेताहरुले पनि विश्वास गुमाइसकेको बताए ।

शुक्रबार कांग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद संसदजस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठीक लगाउने राजनीतिले हो । तर राजनीतिलाई ठीक ठाउँमा ल्याउने नेताहरुले विश्वास गुमाएको अवस्था छ ।’

जनताको नजरमा नेताहरु प्रति विश्वास हराएको पनि उनले बताए । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनले टिप्पणी गरे । ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरु बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरुले’, उनले भने । महाधिवशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन पनि आग्रह गरे ।

उनले विगतका गल्ती कमजोरीहरुलाई सुधारेर अघि बढ्नपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको पनि बताए । ‘अब देशका राष्ट्र प्रमुखको रुपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने। उनले कांग्रेसको १४ औं महाधिवेशनको पूर्ण सफलतको पनि कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?