विदेशबाट फर्केका युवा कुखुरापालनमा

RSS
65
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुगे । पाँच वर्ष विदेश बसे पनि उनले मनग्य पैसा आर्जन गर्न सकेनन् । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उनले व्यवसाय गर्न ऋण काढ्नतर्फ लागे । ऋण नपाएपछि चौधरी कतार उडे ।

कतार पुगेपछि कोराना महामारी फैलियो । ‘निषेधाज्ञाका कारण खासै कमाइ भएन,’ उनले भने, ‘घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।’ विदेशबाट कमाएको तीन लाख रुपैयाँले चौधरीले कुखुरापालनको सुरुआत गरे । दुईवटा फार्म बनाएर उनले कुखुरापालन गर्न थाले । ‘फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,’ उनले भने, ‘तर पहिलो लट्मै पाँच लाख रुपैयाँको कुखुरा बिक्री भयो ।’

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर एक लाख ५० हजार रुपैयाँ नाफा भएको चौधरीले बताए । दुई फार्ममा उनले सात हजार कुखुरा पाल्दै आएका छन् । हालसम्म चौधरीले २० लाख रुपैयाँ नाफा आर्जन गरिसकेका छन् । ‘विदेशमा जति परिश्रम गरे पनि महिनाको ३५ हजार रुपैयाँ रकम मात्रै मासिक रुपमा हात पथ्र्यो । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ’, उनले भने । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?