जनप्रतिनिधिको गुनासोः कृषि विकास बैंकको सेवा प्रभावकारी भएन

चितवन । कृषि प्रधान देश नेपालमा कृषि विकास बैंकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । 

सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक कार्यक्रममा जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । 

सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सरकारी बैंक भएकाले कम ब्याज र सहज तरिकाबाट किसान र सर्वसाधारणलाई ऋण प्रवाह गर्नुपर्ने बताए । जनतालाई सहज सुविधा दिन नसके उनीहरूको आकर्षण निजी क्षेत्रको बैंकमा हुने उनले धारणा राखे । 

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले कृषि विकास बैंकले किसानलाई उपेक्षा गरेको भन्ने गुनासो रहेको भन्दै त्यसलाई मेट्ने गरी काम गर्न सुझाव दिए । 

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले चेक भुक्तानी, सामाजिक सुरक्षा भत्ता, कृषि ऋण लिन झण्झटिलो भएको गुनासो रहेको हुंँदा अन्य व्यावसायिक बैंकजस्तै प्रतिस्पर्धात्मक रुपमा सेवा दिनुपर्ने बताए । सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहेको बैंकले जनताको अपनत्व हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । 

त्यसैगरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अहिलेसम्मका पुस्ताले बैंकलाई विश्वास गर्ने वातावरण रहे पनि भावी पुस्ताले पनि कृषि विकास बैंकको अनुभूति गर्ने गरी सेवा सुविधालाई चुस्त दुरुस्त राख्दै लैजानुपर्ने बताए । 

अन्तक्र्रिया कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख चुननारायण श्रेष्ठले आफ्नो नगरपालिकामा कृषि विकास बैंकको शाखा एउटा पनि नरहेकाले सामाजिक भत्ता अन्य बैंकबाट दिनुपर्ने बाध्यता रहेको बताए । 

कार्यक्रमका अन्य सहभागीले ऋण दिँदा शेयर काट्ने तर भुक्तानी गर्दा त्यसको हिसाब किताब नगर्ने, साना किसानलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका थिए । कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बैंक भएता पनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो थियो । 

सो अवसरमा कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले बैंकले अघिल्ला वर्षमा भन्दा अहिले सेवा सुविधामा विशिष्टीकरण गरेको दाबी गर्दै देशभरका स्थानीयतहसंँग सहकार्य र हातेमालो गर्न तत्पर रहेको बताए । 

कृषि विकास बैंकलाई आफ्नै घर आँगनको बैंक सम्झेर यसलाई कसरी अगाडि बढाउने, बैंकको दायित्वलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आफूले सुझाव सल्लाहको अपेक्षा गरेको उनले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?