काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि लामो समय साझा उम्मेदवार बनाउने छलफल भए पनि संस्थापनइतरमा सहमति जुट्न सकेन ।
पटक–पटकको छलफलमा संस्थापनइतरबाट साझा उम्मेदवार बनाउने प्रयास विफल भएपछि सभापतिका आकांक्षीहरु आ–आफ्नै टिम बनाउन व्यस्त छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबारदेखि निवासबाट निस्केका छैनन् ।
शुक्रबार बिहानसम्म पौडेल निवासमा आकांक्षी र प्रतिनिधिको भेट बाक्लै छ । टिम बनाइने नबनाउने भन्ने अन्योलमा रहेका पौडेल टिमको ड्राफ्ट तयार गर्दै, भेटघाटमा व्यस्त देखिएको एक नेताले बताए ।
बिहीबारसम्म निरन्तर छलफल भएको थियो । तर सभापतिको आकांक्षीहरुबीच साझा उम्मेदवार बनाउन सहमति नदेखिएपछि सबै प्रयासहरु विफल हुन पुग्यो ।
संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दौडमा रहेका थिए ।
तर मंगलबार साँझ शशांकले आफूले सहमतिका लागि रामचन्द्र पौडेललाई सघाएर अघि बढ्ने बताएका थिए । बुधबार पौडेलले पनि सिंह र कोइराला (शेखर) मिलेर आएमा आफूले ब्याक हुने संकेत दिएपछि नेताहरु आन्तरिक छलफलमा जुटे ।
यद्यपि सिंह र कोइराला दुवैले आ–आफ्नो दाबी नछाडेपछि वार्ता असफल भयो ।
वार्ता लगभग विफल भए पनि बिहीबार शशांक निवास महाराजगञ्जमा बसेको बैठकले पौडेललाई नै साझा उम्मेदवार बनाएर एउटै टिम बनाउने निर्णय गरेको थियो । निर्णय सुनाउन प्रकाशमान निवास चाक्सीबारी पुग्दा सिंह अडान छाडेनन् ।
चाक्सिबारी पुगेका युवा नेताहरूलाई सिंहले पौडेल आफूभन्दा सिनियर नेता भएकाले १३औँ महाधिवेशनमा छाडेको तर अब पौडेललाई सम्मानित स्थान दिएर आफूहरु सहमतिमा जानुपर्ने बताएका थिए ।
‘१३औँ महाधिवेशनमा मैले रामचन्द्र दाइलाइ छोडेको हुँ । उहाँलाइ सम्मानित ठाउँ दिऔँ हुन्छ भने मेरो नाममा सहमति गरौँ, नभए आ–आफ्नो हिसाबले अघि बढौँ’, उनले भनेका थिए ।
त्यस्तै यता महाराजगन्जको निर्णय सुनाउन शेखर निवासमा पुग्दा उस्तै खाले जवाफ आयो । बिहीबार बिहानै शेखरले भनेका थिए, ‘रामचन्द्र दाइको नाममा सहमति हुन्छ भने म बाधक बन्दिनँ ।
शेखरले सोही कुरा दोहोर्याए । रामचन्द्र पौडेलको लागि प्रकाशमान बाधक बने । शेखर रामचन्द्रलाई छोड्न तयार भए पनि प्रकाशमान तयार भएनन् ।’
आकांक्षी नेताहरु अहिले पनि आन्तरिक छलफलकै क्रममा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया