प्रतिपक्षकै समर्थनमा नीति तथा कार्यक्रम पारित

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको समर्थनमा सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट ७ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि प्रतिपक्षसहितको समर्थनमा नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि गत ९ देखि ११ जेठसम्म सदनमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले जवाफ दिएपछि पनि कांग्रेस सांसद मीनेन्द्र रिजालले आफ्ना तर्फबाट राखिएको संशोधन फिर्ता लिन मानेनन् । उनले आफ्नो संशोधन फिर्ता नलिएपछि सदनमा निर्णायार्थ प्रस्तुत गरिएको थियो । उनको संशोधनमा बहुमतले असफल पारेपछि सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए ।

निर्णयार्थ पेस गर्दा प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने आवाज विपक्षी बेन्चबाट सुनिएन । त्यसलगत्तै सभामुखले हुन्न भन्ने आवाज नआएपछि सत्तापक्षका सांसदले र मन्त्रीहरूले विपक्षी बेन्चतिर हेरे । कांग्रेस सांसदहरूले मौनतापूर्वक नीति तथा कार्यक्रमको समर्थन गरे । हुन्छ भन्ने सांसदहरूको स्वर गुन्जिएसँगै सभामुखले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?