कांग्रेस महाधिवेशन : लामो समयपछि ओली, प्रचण्ड र नेपाल एकै मञ्चमा

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजबाट सुरु हुँदै छ ।

काठमाडौंको भृकुटीमण्डपमा दिँउसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दै छन् ।

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु आएका छन् । देशभरबाट ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधि समेत काठमाडौं आइसकेका छन् ।

महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि कांग्रेस नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।

तत्कालीन नेकपाको किचलो र त्यसपछिको विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् ।

महाधिवेशन उद्घाटन हेर्न मञ्चबाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?