प्रदेशप्रमुख शर्माद्वारा ‘मकवानपुरमा मिडिया’ पुस्तकको विमोचन

RSS
117
Shares

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ‘मकवानपुरमा मिडिया’ नामक पुस्तकको आज (बिहीबार) विमोचन गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका–५ निवासी पत्रकार गिरिजा अधिकारीद्वारा लिखित सो पुस्तकको राइनिसी मिडिया एन्ड रिसर्च सेन्टर काठमाडौंले प्रकाशन गरेको हो । सो अवसरमा प्रदेशप्रमुख शर्माले पत्रकारिता जगत देश र जनताप्रति जवाफदेही बन्नुपर्ने बताए ।

उनले पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि उठेर प्रेस स्वतन्त्रताका लागि पत्रकारहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई पनि त्यागेर प्रजातन्त्रको संवर्द्धन र राष्ट्रियताको जगेर्ना गर्न पत्रकारिता क्षेत्रको विश्वसनीयतालाई जनतासामु पुर्‍याउन आग्रह गरे ।

उनले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्चपदस्थ अधिकृतहरूले गरेका अनियमित कार्यका लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न पत्रकारमा दृढता हुनुपर्नेमा जोड दिए ।

प्रदेशप्रमुख शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ पुस्ता पत्रकारिता क्षेत्रको विकासका लागि अग्रसर रहनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको आर्थिक समृद्धिका लागि नेपाली पत्रकारिता क्षेत्रले निश्पक्ष भएर लाग्नुपर्नेमा जोड दिए ।

सो पुस्तकका समीक्षक पत्रकार रामचन्द्र आचार्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल र राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर काठमाडौंका अध्यक्ष नवराज न्यौपानेले पत्रकारिता क्षेत्रको माध्यमबाट मुलुकमा देखिएको भ्रष्टाचार, विसंगति र हिंसालाई न्यूनीकरण गर्न यो पुस्तक फलदायी हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?