कांग्रेस महाधिवेशनमा कलाकर्मी : अभिनेतादेखि डान्सरसम्म

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कलाकर्मीहरूको प्रतिनिधित्व पनि उल्लेख्य छ । कतिपय कलाकर्मी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरमा (भोलि) उद्घाटन हुँदै छ । लामो समयदेखिको रस्साकस्सीपछि हुनलागेको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यतिबेला संस्थापन र इतर दुवै पक्ष सभापतिसहित पदाधिकारी चयनमा लागिरहेका छन् । संसथापन पक्षबाट वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भएपछि इतर पक्षबाट सभापतिका उम्मेदवारमा सहमति जुट्न सकेको छैन ।

विशेषतः प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिको लडाइँ चलिरहेको छ । यद्यपि सहमति जुट्न नसकेको खण्डमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उम्मेदवार बन्नसक्ने देखिएको छ । उता विमलेन्द्र निधी पक्षको पनि आप्mनै तयारी छ ।

बुढो पार्टीको उपमा पाएका नेपाली कांग्रेसको यस महाधिवेशनमा कलाकर्मीहरूको पनि उत्साहजनक सहभागिता देखिन्छ । महाधिवेशनमा होमिएका कलाकर्मीहरूमा अभिनेता, गायकगायिकादेखि डान्सर समेत रहेका छन् । देशभरबाट महाधिवेशन प्रतिनिधि बनेर आएका उनीहरू पनि आफ्नो क्षेत्रको प्रतिनिधित्वका लागि उम्मेदवारी दिने तयारीमा छन् ।

शिवहरि नेपाल (बैरागी)

नेपाली कांग्रेसको महाधिवेशनमा होमिएका कलाकार हुन् हाँस्य कलाकार शिवहरि बैरागी । उनी सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । नेपाल सांस्कृतिक संघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनले विभिन्न टेलिश्रृंखला र चलचित्रहरूमा अभिनय गरेका छन् । उनले ‘जिरे खुर्सानी’मा प्रयोग गरेको थेगो ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ निकै चर्चित भयो ।

तीर्थ थापा

कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन्, निर्देशक तीर्थ थापा । नेपाल सांस्कृतिक संघका अध्यक्ष समेत रहेका थापाले कलाकर्मीका हकहितका लागि आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।

कलाकारहरू राजनीतिक पार्टीको गोटीका रूपमा मात्रै प्रयोग हुन नहुने बताउँदै आएका उनी लमजुङबाट खसआर्य कोटाअन्तर्गत कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । कलाकार र निर्माता समेत रहेका थापाले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका फिल्म निर्देशन छन् ।

विमलराज क्षेत्री

वरिष्ठ लोकगायक विमलराज क्षेत्रीलाई पनि कांग्रेस महाधिवेशनको रौनकले छोएको छ । लोकप्रिय लोकगायक क्षेत्री पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । लोकप्रिय मतका साथ प्रतिनिधि बनेर आएका उनी पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन् । क्षेत्रीले राजनीतिका माध्यमबाट कलाकारिता क्षेत्रको संरक्षणको लागि उम्मेदवारी दिन लागेको प्रतिक्रिया दिएका छन् ।

पर्वतको फलेवास नगरपालिका–१० कुर्घा निवासी उनी सबैभन्दा पहिले २०५० मा गाउँकै विद्यालयमा नेविसंघको सचिव भई काम गरेका थिए । २०५६ मा जय नेपाल सांस्कृतिक प्रतिष्ठानको केन्द्रीय सदस्य, २०६८ मा नेपाल कलाकर्मी संघको उपमहासचिव, २०७० मा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य, २०७४ मा लोकतान्त्रिक लोकदोहोरी संघका संस्थापक सभापति बने ।

आम निर्वाचनको बेलामा कांग्रेस पार्टीका लागि गीत तयार पार्ने र गाउने काम समेत गर्दै आएका क्षेत्रीको ‘बल्लै भो भेट’, ‘सुपारी चाम्रो’, ‘रानीघाटैमा’, ‘मधुवनैमा’, ‘जापान टोकियो’लगायतका दर्जनौँ गीत चर्चित छन् ।

रोज राणा

रोज राणा हत्या प्रयासमा 'चरीको रिसिइबी' – BUSINESS PATI | Economical Online News Portal

चलचित्र निर्माता, निर्देशक तथा अभिनेता रोज राणा प्युठानबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । चलचित्र निर्माता संघका महासचिवसमेत रहेका राणा प्युठानका क्षेत्रीय सभापति समेत हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट रहेका राणाले ‘दादागिरी’, ‘डन’, ‘दोस्ती’, ‘मेरो पैसा खोइ’लगायत थुप्रै चलचित्र निर्माण तथा अभिनय गरेका छन् ।

शिवशंकर रिजाल

शिवशंकर रिजाल 'जोगिन्दर' को नाममा बनेको नेपाली गुट्का सोमबारदेखि बजारमा - Enepalese.com

‘जोगिन्दर’को उपनामले परिचित शिवशंकर रिजाल पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका जोगिन्दर अघिल्लो महाधिवेशनमा पनि प्रतिनिधि बनेका थिए ।

नेपाल सांस्कृतिक संघका महामन्त्री समेत रहेका उनले चलचित्र र सिरियलहरूमा अभिनय गर्नुका साथै टीभी कार्यक्रम समेत चलाउँदै आएका छन् ।

सम्झना रौनियार

फिल्ममा पनि सिन्डिकेट छ : सम्झना उप्रेती रौनियार

चलचित्र निर्देशक सम्झना रौनियार उप्रेती पनि कांग्रेसको १४औँ महाधिवेशनको प्रतिनिधि हुन् । रौनियर काठमाडौँ क्षेत्र नम्बर १ बाट मधेसी कोटाअन्तर्गत महाधिवेशन प्रतिनिधिमा चुनिएकी हुन् । म्युजिक भिडियो र चलचित्र निर्देशनमा सक्रिय उनले पहिलो पटक चलचित्र ‘फागु’ निर्देशन गरेकी थिइन् ।

मधुकुमार श्रेष्ठ

फिल्म निर्माता मधुकुमार श्रेष्ठ प्रदेशसभाका उम्मेदवार

धादिङबाट महाधिवेशन प्रतिनिधिमा चुनिएका छन्, फिल्म निर्माता एवं कलाकार मधुकुमार श्रेष्ठ । उनले धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट निर्वाचन समेत लडेका थिए । उनी कलाकार संघ र नेपाल फिल्म सोसाइटीका सदस्य समेत हुन् । उनले ‘बिन्दास’, ‘स्काउट’लगायत फिल्महरू निर्माण गरेका छन् ।

टीका पुन मगर

No photo description available.

गायिका टीका पुन मगरलाई पनि महाधिवेशन लागेको छ । उनी बर्दियाबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । नेपाल सांस्कृतिक संघकी बर्दिया सभापति समेत रहेकी उनले दर्जनौँ चर्चित गीत गाएकी छिन् ।

अन्य
कांग्रेस महाधिवेशनमा अन्य थुप्रै कलाकर्मीहरू होमिएका छन् । डान्सर सविता महर्जन काठमाडौंबाट महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनी सांस्कृतिक संघको काठमाडौँ सभापति हुन् । यस्तै सांस्कृतिक संघका पूर्वउपसभापति रहेका गायक तथा गीतकार टंक विश्वकर्मा झापाबाट महाधिवेशन प्रतिनिधि बनेर आएका छन् ।

गायिका तथा डान्सर सरिता राईलाई पनि महाधिवेशन सरगर्मी लागेको छ । सांस्कृतिक संघको पूर्वकेन्द्रीय सदस्य समेत रहेकी उनी उदयपुरबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् ।
महाधिवेशनको चटारोमा रहेका अर्का गायक हुन् राजेन्द्र खत्री । उनी काठमाडौँ–१० बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

नेपाल सांस्कृतिक संघ मकवानपुरकी सभापति राममाया खत्री पनि महाधिवेशनको तयारीमा छिन् । सांस्कृतिक संघकी पूर्वकेन्द्रीय सदस्य गायिका विद्या तिमिल्सिना बाजुराबाट महाधिवेशन प्रतिनिधि बनेर काठमाडौँ आएकी छिन् ।

देउडाकी चर्चित गायिका भावना शाही कालिकोटबाटै महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनी सांस्कृतिक संघ कालिकोटकी पूर्वसभापति समेत हुन् ।

सांस्कृतिक संघको पूर्वकार्यवाहक सभापति समेत रहेका गायक तथा लेखक राजु श्रेष्ठ बागमती प्रदेशमा कांग्रेसको महामन्त्री समेत निर्वाचित भएका छन् ।

यस्तै सांस्कृतिक संघ बाराका सभापति भाइकाजी श्रेष्ठ बाराबाट महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी गायक तथा डान्सर हुन् ।

यस्तै लमजुङबाट महाधिवेशन प्रतिनिधि बनेर आएकी छिन्, गायिका टीका बस्याल । उनी नेपाल सांस्कृतिक संघ कैलालीकी पूर्वसदस्य हुन् । गायिका मुक्ता यादव धनुषाबाट महाधिवेशन प्रतिनिधि बनेकी छिन् भने सांस्कृतिक संघ कन्चनपुरका पूर्वउपसभापति गोपाल गुरुङ कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि बनेका छन् ।

सांस्कृतिक संघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका वेदराज सिंह जाजरकोटबाट महाधिवेशन प्रतिनिधि बनेका बनेका छन् भने गायिका चिनु पाखेरेल तनहुँबाट महाधिवेशन प्रतिनिधि बनेर आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?