७ माघ २०७८, शुक्रवार

अल्लोबाट आत्मनिर्भर बन्दै पर्वतका महिला

२०७५,जेष्ठ,१३,आईतवार ११:५४

0
Shares

पर्वत । लेकाली सामुदायिक वनका चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर यहाँका महिलाले आय आर्जन गर्न थालेका छन् । उत्तरी पर्वतको जलजला–६ शालिजाका जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई जीविकोपार्जनमा सहयोग पुगेको छ । 

शुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जंगल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । जसमायाका हाल क्याङ र सदरमुकाम कुश्मामा गरी दुई ठाउँ अल्लो प्रशोधन प्रशिक्षण केन्द्र छन् । 

कुश्मामा उनले प्रशोधन तथा कपडा उत्पादन उद्योग सञ्चालन गरेका छन् । उद्योगबाट उनले आफूले मात्र आम्दानी गरेका छैन अरू महिलालाई पनि उद्यममा आकर्षित गरिरहेका छन् । 

केही हजारबाट शुरु गरेको जसमायाको उद्योगमा अहिले करीब रु ४५ लाख लगानी पुगेको छ । उनले प्रशोधन र तालीम सञ्चालन गरेर मासिक रु ६० हजारसम्म आम्दानी गर्ने गरेका छन् । विसं २०५७ मा उनले अल्लोको उपयोगिता बुझेर प्रशोधन शुरु गरेका हुन् । त्यसबखत उनले एउटा हाते मेसिन किनेर धागो निकाल्ने र कपडा बुन्न शुरु गरेका थिए । 

क्याङका धेरैजसो महिला अहिले अल्लो संकलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काममा व्यस्त छन् । वनमा उपयोगविहीन अल्लो संकलन गरेर राम्रो आम्दानी हुने थाहापाएपछि क्याङका ५० महिला यो व्यवसायमा आवद्ध भएका हुन् । 

वनको चाल्ने सिस्नो खोजेर उनीहरू गाउँमै प्रशोधन गर्छन् । अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी बिना पुनले बताए । “कपडा तयार गर्नसके थोरै धागोबाट रामै आम्दानी हुन्छ,” उनले भने – “भ्याइएन भने धागो पनि बिक्छ ।” तयारी कपडा प्रतिमिटर रु सात सयसम्ममा बिक्री हुने गरेको छ । अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोशाक पोखरा, काठमाडाँंै र विदेशमा समेत पठाउने गरिएको छ । 

“पहिले घरधन्दामै दिन बित्थ्यो,” उद्यमी झकमायाले भने, “अहिले घरको सबै काम सकेर पनि महिनाको १०–१२ हजार आम्दानी हुन्छ ।” आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गरेको उनले बताए । उनीहरूले स्थानीय खर्सुवास गैराखर्क, ठूलो टाउका र रेसापातल सामुदायिक वनमा अल्लो संकलन गर्छन् । 

विशेषगरी साउनदेखि मंसिरसम्म संकलन गरेको अल्लो फागुनदेखि असारसम्म प्रशोधन गर्ने गरिन्छ । जाडो र चिसो मौसममा सुकाउन समस्या हुने भएकाले पुस र माघमा कपडा बुन्ने गरिन्छ । फागुनदेखि जेठको अन्तिमसम्म लोक्ता निकाल्ने, पकाउने, पखाल्ने र सुकाउने काम हुन्छ । चरणबद्ध रूपबाट काम गर्दा वर्षभरिका कुनै पनि महिना खाली बस्न नपरेको उद्यमी महिला बताउँछन् । 

स्थानीय सामुदायिक वनहरूले निःशुल्क अल्लो संकलन गर्न दिएका छन् । महिला समूहमै मिलेर काम गर्छन् । वनमा अल्लो संकलन गर्ने, लोक्ता निकाल्ने, सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको उद्यमी जसमायाले बताए । 

यसबाट वन पनि सफा भएको छ र महिलाको आम्दानी बढेको छ । उनीहरूलाई समय–समयमा जिल्ला लघुउद्यम विकास कार्यक्रम, घरेलु कार्यालयलगायत विभिन्न संघ संस्थाले तालीम र उपकरण प्रदान गरी सहयोग गर्ने गरेका छन् । जलजला गाउँपालिकाले शालिजा, लेकफाँट र बनौंको माथिल्लो भेगको जंगलमा पाइने अल्लोलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोडेर त्यसको विस्तार गर्ने गरी कार्यक्रम तय गरेको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार महिलालाई अल्लोको उद्यमसँग जोडेर प्रशिक्षण र व्यवसाय प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिएको छ । 

मोदी गाउँपालिका तीन देउरालीका महिलाले पनि गाउँमै घरेलु उद्योग खोलेर अल्लोका सामग्री उत्पादन गर्दैआएका छन् । विसं २०७१ पुसमा दुई महिलाले अल्लो प्रशोधन उद्योग शुरु गरेकामा हाल उद्यमीको संख्या ११ पुगेको समूहका अध्यक्ष रनमाया गुरुङले बताए । देउरालीका महिलालाई हालै दक्षिण कोरियाको एक संस्थाले अल्लो प्रशोधन गर्ने मेसिन सहयोग गरेको छ । यसको प्रयोगबाट पहिलेभन्दा तेब्बर छिटो धागो निकाल्न सकिएको छ । देउरालीमा उत्पादन भएका अल्लोका तयारी पोशाकको माग मेसिन सहयोग गरेको कोरियाली कम्पनीले गर्न थालेको छ । 
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार ११:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तपाई कति घण्टा सुत्नुहुन्छ ? मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर विशेषज्ञले

खानेकुरा मिठो लाग्ने, खाएको खानेकुरा राम्ररी पच्ने, घाम ताप्न पाइने, तात्तातो चिया, कफी र सुप खान पाउने भएर धेरैलाई जाडो

डा. हेमराज कोइराला I मकर सङ्क्रान्तिमा तिलको लड्डु, तरुल, घिउ, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदि खाने चलन छ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुने हुनाले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन र भएमा के

ताजा समाचार