अनमोलदेखि प्रदीपसम्मः फेरि फिल्ममा ‘हिरो’ कै खोजी !

काठमाडौं । एक भारतीय फिल्ममा डायलग छ – हरेक कहानीमा एउटा हिरो हुन्छ, जसले सबैभन्दा धेरै समस्या समाधान गर्छ, उही हिरो बन्छ ।

टेक्नोलोजीको विकासले हिरो मात्र हैन, सुपरहिरो पनि जन्माउन थालिसकेको छ सिनेम्याटिक विश्वमा । हलिउडका केही स्टुडियोले त्यस्तै संसारको परिकल्पना गरेका छन्, जुन फिल्ममा सुपरहिरो ब्रह्माण्डको बचाउमा लागेका हुन्छन् । विश्वलाई नै सिनेमा सूत्र सिकाउन चाहने हलिउडले हिरोलाई छोडेर सुपरहिरो जन्माउन थालिसकेको छ । ती सुपरहिरोहरु हिरोभन्दा पनि शक्तिशाली हुन्छन् । उनीहरुसँग खास शक्ति हुन्छ भगवानसँग जस्तै ।

नेपालको फिल्म मेकिङ हेर्ने हो भने कलाकारको स्टारडम खासै जम्न सकेको छैन । त्यस्ता फिल्म निर्माणको परिकल्पना त परको कुरा, फिल्ममा बलवान् देखिने हिरोको औचित्य छ कि छैन भन्नेमा पनि फिल्मकर्मीबीच मत बाँझिन्छ ।

छिमेकी राष्ट्र भारतकै एक प्रान्त दक्षिण भारतको फिल्म उद्योगले केही त्यस्ता व्यक्तिलाई ‘हिरो’ बनाइदियो, जसले दक्षिण भारतीय सिनेमा उद्योगलाई अन्यत्र बोक्नमा काँध थापे । रजनीकान्तजस्तै चम्केका अर्का हिरो हुन् प्रभाव उर्फ बाहुबली । बाहुबलीपछि दक्षिण भारतले आफ्ना फिल्म हेर्ने दर्शक अझ धेरै बढायो ।

दशकअघि फिल्मको ट्रेन्ड फरक धारमा हिँड्नुभन्दा पहिले नेपाली सिनेमामा पनि ‘हिरो’ को उपस्थिति अनिवार्य जस्तै थिया, तर केही समयपछि त्यस्तो हिरोको अनिवार्यता बिस्तारै हट्दै गयो । लगत्तै नेपाली सिनेमा थिएटरमय भयो । हिरोइज्म खोज्ने दर्शकले ती फिल्मलाई रुचाए पनि । तर पछिल्ला केही वर्षलाई केलाउने हो भने दर्शकले त्यतिखेर रुचाएका फिल्मजस्ता फिल्म अहिले कमै रुचाएको देखिन्छ ।

नेपालमा यति फिल्म रिलिज हुन्छन् कि, कति फिल्म त रिलिजको अघिल्लो दिन फिल्म रिलिज हुँदैछ भनेर पत्तो पाइन्छन् र केही घण्टामै ती फिल्म हलबाट ‘आउट’ भइसकेका हुन्छन् । तर, केही फिल्मले कमसेकम दर्शक हलसम्म तान्ने सामथ्र्य राख्छन् । त्यसरी सामथ्र्य राख्ने कलाकारमा यतिबेला देखिएका छन् अनमोल केसी, प्रदीप खड्का, सलिनमान बानिँया, पल शाह लगायतका केही चकलेटी कलाकार । 

फिल्म राम्रो बन्यो भने यी कलाकारले अभिनय गरेका फिल्मले दर्शक हलसम्म तान्न सक्छन् भन्ने धेरैलाई परेको छ ।
गत वर्ष राम्रो फिल्म बनेर पनि हलमा दर्शक तान्न नसकेको सौगात मल्लको ‘पञ्चेबाजा’ चल्नुपर्ने थियो, तर उनले हिरोइज्म गुमाउने पङ्तिमा थिए । उनै सौगातले केही वर्षअघि सम्म एउटा क्रेज धानेर बसेका थिए ।

राजेश हमाल, दिलिप रायमाझी, विराज भट्ट, भुवन केसी, सुशील क्षेत्री, निखिल उप्रेती लगायतका हिरोको छाप नेपाली सिनेमामा अझै पनि छ । बीचमा हिरोइज्म जस्तोसुकै चरित्रमा देखिएपनि अहिले फेरि दर्शकमा शारीरिक रुपमा पनि हिरो देखिने हिरोको खोजी हुन थालेको छ । किनकि, केही वर्षअघि दर्शकले जस्ता फिल्मलाई पत्याइदिएका थिए, त्यस्ता फिल्मको स्वाद अहिले दर्शकका लागि मोनोटोनस बनेको छ । फेरि हिरोकै खोजी हुन थालेको छ ।

चलचित्र ‘पशुपति प्रसाद’ मा मुख्य भूमिका निर्वाह गरेका अभिनेता खगेन्द्र लामिछाने त्यतिबेला हिरोइज्म बनाउन सफल भए तर के भइदियो भने त्यसपछिका फिल्ममा उनी उस्तै भूमिका र चरित्रमा दोहोरिए । अहिले उनको अभिनयको तारिफ त्यति हुँदैन, जति पशुपति प्रसादले उनलाई दिएको थियो ।

यही फिल्म निर्देशन गरेका निर्देशक दीपेन्द्र के खनालले क्यारेक्टरको दमदार भूमिका भएको फिल्म बजारमा नआउँदा चरित्रमा आधारित फिल्म चुकेको बताउँछन् । ‘चरित्र समाजका विभिन्न कुरामा जोडिएको हुनुपर्छ, त्यसैले पात्रलाई हिरो बनाइदिन्छ, हाम्रोमा शायद बलियो फिल्म बन्न सकेको छैन’, उनी भन्छन्, ‘अनमोल केसी लगायतका केही युवा अभिनेताले दर्शक हलसम्म तानेका छन्, यो पनि सकारात्मक कुरा हो, नेपाली दर्शक हलसम्म आउनु भनेको फिल्मकै दर्शक बढ्नु हो ।’

अनमोल केसी, प्रदीप खड्का, सलिनमान बानिँया लगायतका युवा सेलिब्रेटीले निर्माण गरेको फिल्मी हिरोइज्मले खासगरी युवापुस्तालाई हलसम्म तानेको खनाल बताउँछन् ।

केही वर्षअघि एकछत्र राज गरेका अभिनेता दयाहाङ राई, सौगात मल्ल लगायतका थिएटरका कलाकार अहिले दर्शकको आशा बन्न सकेका छैनन्, यसको मूल कारण उस्तै फिल्म धेरै दोहोरिनु र हप्तैपिच्छे उनै कलाकारका फिल्म आउनु पनि भएको खनालको कथन छ । ‘हुन त उहाँहरुका आफ्नै बाध्यता होलान् तर हप्तैपिच्छे दयाहाङ र सौगातका फिल्म आउँदा उहाँहरुको क्रेज भने घटेको अनुभव मलाई पनि भएको छ, तर रियालिस्टिक फिल्म हेर्ने दर्शक र केही युवा स्टारका फिल्म हेर्ने दर्शक फरक हुनुहुन्छ जस्तो लाग्छ ।’
उनका अनुसार अनमोल केसीका फिल्म हेर्ने दर्शकमा टीन उमेरका युवती धेरै छन्, उनीहरुले अरु फिल्म खासै हेर्दैनन्, तर नेपाली फिल्म हेर्ने बानी पर्छ ।

फिल्म राम्रो छ भनेर हलसम्म दर्शक तान्नका लागि पनि हिरोकै भर पर्नुपर्ने अवस्था आयो भने नेपाली फिल्मको चक्र फेरि घुम्ने देखिन्छ ।
फिल्म ‘चंगा’ निर्देशन गरेका निर्देशक किशोर भण्डारीले भने फिल्मको कथामा हिरोइज्म हुनुपर्ने धारणा राख्छन् । ‘नेपालमा रुप, रंग र स्टाइललाई हिरो मान्ने चलन छ, रुप र स्टाइलको कुरा तपसीलको कुरा हो, फिल्ममा सकारात्मक सन्देश दिने पात्र खास हिरो हो, हिरोइज्म भन्ने कुरा फिल्मको श्रंगार हो,’ भण्डारी अगाडि थप्छन्, ‘हामीले चंगामा पनि अंकित खड्कालाई त्यस्तै हिरोका रुपमा प्रस्तुत गरेका छौं, फिल्मको कथाले उनलाई हिरो बनाउने हो ।’

अघिल्लो पुस्ताकी चर्चित नायिका र अहिलेकी निर्देशक झरना थापाले केही समयअघि फिल्म ‘ए मेरो हजुर २’ निर्देशन गरिन् । उक्त फिल्मले उनलाई एकाएक निर्देशकका रुपमा चिनायो । अर्कातिर युवा अभिनेता सलिनमानलाई पनि सोही फिल्मले चिनायो ।

थापाले पहिलेका हिरो र अहिलेका हिरोमा केही फरक भएपनि नेपाली सिनेमाले हिरोइज्मको खोजी गर्न थालेको स्वीकार्छिन् । ‘फिल्म भनेको फिल्म नै हो, केही समय यताउता भएजस्तो भएपनि फिल्ममा हिरोइज्मको खोजी सधै हुने गर्छ,’ झरना भन्छिन्, ‘पहिले हिरोको अभिनय बढी लाउड हुने गथ्र्यो, अहिले वास्तविकतासँग नजिक भएका फिल्ममा हिरोइज्म खोजिन्छन् ।’

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रले फड्को मार्दै गएको बताउने झरनाले नेपाली सिनेमाले ‘हिरो’ पाएको र त्यस्ता फिल्म चलेको बताउँछिन् । ‘हो, पछिल्लो समय केही नेपाली कलाकारले ‘हिरो’ को मार्केट बनाएका छन्, यसले विदेशसम्म पनि नेपाली फिल्मको क्रेज बढाउन सक्छ ।’, झरना भन्छिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?