सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

लोकपथ
312
Shares

काठमाडौं । आज (बुधबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज पनि सेयर बजारमा भारी अंकको गिरावट देखिएको हो ।

बुधबार परिसूचकसँग कारोबार रकममा समेत गिरावट आएको छ । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपश्चात ओरालो लाग्न थालेको बजारले अझै गति लिन सकेको छैन ।

बजार दिनहुँजसो घट्न थालेपछि लगानीकर्ताहरुमा त्रास बढ्न थालेको छ । लगानीकर्ताहरु सामाजिक संजालमार्फत आ-आफ्ना तर्क वितर्क व्यक्त गर्न थालेको छन् ।

आज (बुधबार) सेयर बजार मापक नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० बिन्दुमा झरेको छ । आज नेप्से २.१२ प्रतिशतले घटेको हो ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४६४.७९ बिन्दुमा पुगेको छ ।

आज कारोबार रकम पनि साढे २ अर्बमा खुम्चिएको छ । नेप्सेका अनुसार आज कुल २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको सेयरमूल्य घटेको छ । जसमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । आज ७ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय ८१ कम्पनीको सेयरमूल्य घटेको छ ।

आज सामुदायिक लघुवित्त, एक्सल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथि लघुवित्त,सामलिङ्ग पावर लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यता स्ट्यान्डर्ड चाटर्ड बैंक, मैलुङ खोला जलविद्युत सानिमा लार्ज क्याप फण्ड नेपाल एसबीआई बैंक लगायत कम्पनीको सेयरमूल्यमा भने सामान्य वृद्धि भएको छ । यी कम्पनीहरुको सेयर मूल्य एक प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो ।

त्यसैगरी, आज नेसनल हाइड्रोपावर कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ११ करोड ८८ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?