काठमाडाैं । कांग्रेस केन्द्रीय महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी रहँदा नेताहरुको दौडधुपले तीव्रता पाएको छ । १४औँ महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यसहितको प्यानल निर्माणको गृहकार्यमा छन् ।
त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले भने अहिलेसम्म सभापति को बन्ने भन्ने विषय नै टुंगो लगाउन सकेको छैन । संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइरालाले नेतृत्व दाबी गरेका छन् ।
यसअघि नेतृत्व दाबी गरेका महामन्त्री डा. शशांक कोइरालाले मंगलबारको इतर पक्षको भेलामा वरिष्ठ नेता पौडेललाई सभापति स्वीकार गर्न तयार रहेको र अरुले पनि स्वीकार्नुपर्ने बताएका छन् । शशांक र पौडेल सफ्ट देखिए पनि शेखर र सिहं भने कुनै हालतमा पछि नहट्ने अडानमा छन् ।
‘हामी ३ वर्षदेखि मिहिनेत गरिराखेका छौँ, कुनै पनि हालतमा ब्याक हुँदैनौँ’, डा. शेखरको सचिवायलयले अधिवेशनको सुरुदेखि भन्दै आएको कुरा हो यो ।
सम्भव भए महामन्त्री, नभए सहमहामन्त्रीमा चित्त बुझाउने मनसायमा रहेका युवा नेता गुरु घिमिरेलाई प्रदेश १ को सभापतिमा दाबी गर्न तयार बनाएको शेखर समूहले उनलाई जिताउन भने सकेन । १५० मतले जित हाँसिल हुनेमा ढुक्क यो समूह २ मत अन्तरले हारेपछि माफी समेत मागेको छ । सो केसले डा. शेखरलाई ब्याकफायर गरेको छ ।
मगंलबारबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका प्रकाशमान सिहंलाई कार्यालय उद्घाटन गर्दै गर्दा साझा उम्मेदवारको नाममा पटक पटकको वार्ताले निचोड दिन सकेन अब सहमतिको सम्भावना टरेको हो ? भन्ने सञ्चारकर्मीके प्रश्नमा सिहंको जवाफ थियो, ‘होइन हामी आज पनि छलफलमा छौँ । नभएसम्म छलफलमा हुन्छौँ, सजिलै मिल्ने कुरा होइन यो ।’ आफ्नै नाममा इतर पक्षको साझा उम्मेदवार होस् भन्ने चाहन्छन्, पौडेल, शेखर र सिंह ।
सिहंको अडान प्रधानमन्त्रीको लागि बार्गेनिङ हुनसक्ने चर्चा इतर पक्षका अन्य आकांक्षीमा छ । सो समूहबाट उपसभापतिमा सभापतिको उम्मेदवार भनेर दाबी गरिरहेका डा. रामशरण महत र अर्जुननरसिंह केसी उपसभापतिका आकांक्षी छन् ।
उपमा नअटे महामन्त्रीमा चित्त बुझाउने उनीहरूको रणनीति छ । उपसभापतिमा युवा नेतृत्वबाट नेतृत्वलाई साझा सभापतिको उम्मेदवार खडा गर्न दबाब दिइरहेको डा. चन्द्र भण्डारीको पनि दाबी छ ।
गगन थापालाई महामन्त्री बनाएर अन्य आकांक्षीलाई ८ वटा कोटा रहेको सहमहामन्त्रीमा व्यवस्थापन गर्न सकिने गृहकार्यमा सो समूह छ ।
रामचन्द्र पौडेलको नाममा सहमति भएमा प्रकाशमान सिहं प्रधानमन्त्री तथा उपसभापतिमा डा. शेखर कोइराला र महामन्त्री वा उपसभापतिमा शशांक कोइराला बनाउने विकल्प पनि सो समूहसँग छ । तर, लामो समयसम्म सहमति गर्न नसकेको सो समूहमा आफैँ ध्रुवीकरणमा पर्ने खतरा पनि उक्तिकै छ ।
‘हामीले सबै दृष्टिकोणबाट छलफल गर्यौँ । अबको यो चुनौतीको सामना हामी कसरी गर्छौं, महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौँ, सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्षको नजिक नजिक पुगेका छौँ,’ मंगलबारको बैठकबाट निस्कँदै गर्दा पौडेलले भने, ‘केही प्रक्रिया पूरा गर्न बाँकी छ । त्यो प्रक्रिया पूरा गरेर हामी भोलि हाम्रो निर्णय सार्वजनिक गर्छौँ । भोलिसम्म साझा उम्मेदवार तय हुन्छ, हामी तय गर्छौं ।’
पौडेल समूहले यो रटान लगाएको एक वर्ष पुग्न लाग्यो तर उपलब्धि भने शून्य देखिएको छ ।
उता संस्थापन पक्षले भने सभापतिमा दोहोरिने माहोल देखिएको भन्दै कन्फिडेन्ट बढाएको छ । सोमबार सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँग प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भने, ‘मेरो यो अन्तिम पटक सभापति हुने हो, तपाईँहरूले सहयोग गर्दिनुपर्यो । अब पार्टीलाई पूर्ववत् अवस्थामा पु¥याएर युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्छु ।’
६ वटा प्रदेशमाको नतिजा आएकोमा ४ वटा आफ्नो पक्षमा परेकाले संस्थापन पक्ष जित्नेमा ढुक्क छ । तल्ला तहदेखि इतर समूहलाई माथि आउन नदिने उसले आफ्नो रणनीतिलाई सफल पारेको प्रदेश अधिवेशनले स्पष्ट पार्छ ।
सो समूहमा सभापतिमा विवाद नरहे पनि पदाधिकारी टुंग्याउन भने सहज छैन । उपसभापति विजयकुमार गच्छदार, नेता गोपालमान श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकलगायत नेता पदाधिकारीमा अट्न चाहन्छन् ।
सभापतिमा दाबी गरेका श्रेष्ठले देउवालाई सभापति नलड्न सुझाएका छन् । संस्थापनबाट गच्छदार र खड्का उपसभापतिका आकांक्षी छन् । गृहमन्त्री खाँण, महत, कार्की, साउद र लेखकको दाबी महामन्त्रीमा छ ।
आफ्नो जोखिम कम गर्न इतरपक्षका प्रभावशाली नेतालाई उपसभापति र महामन्त्रीको ‘अफर’ गरेर तान्ने कसरत छ । सहमहान्त्रीमा समेत इतरपक्षका असन्तुष्ट नेतालाई तानेर आफ्नो पल्ला भारी बनाउन संस्थापन लागि परेको छ । यसले पनि पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई चुनौती छ ।
व्यवस्थापनकै लागि ८ वटा सहमहामन्त्रीलाई बढाएर ११ वटा बनाउने कसरत समेत देउवाको छ । जसमा पोडेलले भने असहमति जनाएका छन् । आफूलाई साथ दिँदै आएका विमलेन्द्र निधिले समेत सभापतिमा दाबी गर्दा मधेशको माहोल बिग्रने डर देउवालाई छ । सभापतिमा भने देउवाले थ्रेट ठानेका छैनन् ।
सभापति देउवा भने अर्को गुटका नेता कृष्णप्रसाद सिटौला पक्षसँग निरन्तर छलफलमा छन् । सिटौलापक्षले सभापतिमा देउवालाई सघाउने भएपछि पदाधिकारी र केन्द्रीय सदस्य बढीभन्दा बढी संख्यामा माग गरिरहेको छ ।
‘२ पदाधिकारी र २० केन्द्रीय सदस्यमा हाम्रो पहिलेदेखि नै दाबी हो । यसमा आवश्यकताअनुसार लचक हुन सकिन्छ । तर अर्को महाधिवशेनमा सिटौला दाइ देउवाको ठाउँमा सभापतिको उम्मेदवार बन्न पाउनुपर्छ’, सिटौलानिकट एक नेताले लोकपथसँग भने ।
एक महिनादेखि केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिहरूको सूक्ष्म ढंगले रेकर्ड राखी पक्ष विपक्ष हेरिरहेको छ देउवा सचिवालयले । सो काम डा. शेखर कोइराला, रामचन्द्र पौडेलको सचिवालयले पनि गरिरहेको छ ।
देउवा सचिवालयमा रिपोर्टको आधारमा ५० प्रतिशत मत कटाउने गरी पदाधिकारी र केन्द्रीय सदस्य छनोट गर्ने तयारी भइरहेको छ । १३औँ महाधिवेशनमा सिटौलाको समर्थनमा दोस्रो चरणको निर्वाचनमा विजयी भएका देउवा यो पटक पहिलो चरणमै विजयी हुने रणनीतिमा लागेका छन् ।
पौडेलपक्षका नेताहरूले आफ्नो पक्षबाट एकमात्र साझा उम्मेदवार दिन नसके फेरि नेतृत्व देउवालाई नै बुझाए हुन्छ भनिरहेका छन् । अन्य आकांक्षीले अनौपचारिक रूपमा भने पनि महामन्त्री डा. कोइरालाले औपचारिक रूपमा यो कुरा बोलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया