बीपीको जन्मभूमिको माटो छोएर केसीले भने– ‘बीपीको परिकल्पना घाटमा पुग्न दिनु हुँदैन’

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता जगदीश्वरनरसिंह केसीले बीपीले परिकल्पना गरेको काँग्रेसको निष्ठा र आदर्श अब घाटमा पुग्न दिन नहुने बताएका छन् ।

हेटौडामा पार्टीको प्रथम बागमती प्रदेश अधिवेसनपछि आज कांग्रेस संस्थापक नेता बीपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जा पुगेका उनले यस्तो बताएका हुन् ।

‘बीपीले पहिलोपटक धर्ती स्पर्श गर्नुभएको दुम्जाको माटोमा उभिएर बीपीले निर्माण गर्नुभएको कांँग्रेस, अघि सार्नुभएको आदर्श र देखाउनुभएको लोकतन्त्रको बाटोलाई सम्झिएँ’, उनले भने, ‘बीपीले देखाउनुभएको कांग्रेस हिँड्नुपर्ने त्यो बाटो र आजको नेतृत्वले कांग्रेसलाई घिसारिरहेको यो बाटो सम्झिएँ । उहाँले परिकल्पना गर्नुभएको कांग्रेसको निष्ठा र आदर्श आज कोमामा पुर्याइएको छ । यसलाई अब घाटमा पुग्न दिनु हुँदैन, फर्काएर पुनर्जागरण गर्नु र पुनर्जीवन भर्नु आवश्यक छ ।’

उनले आज बीपीको जन्मस्थलको पवित्र माटो छोएर र छातीमा स्पर्श गरेर आफूले कुनै पनि अवस्थामा पार्टीलाई विधिविहीन र कार्यकर्तालाई विवेकविहीन बनाउने कार्यविरुध्द सङ्घर्ष गर्ने प्रतिबद्धता गरेको पनि बताए । निष्ठाको राजनीति र पार्टीको साख अभिवृध्दिका साथै सबल,सुदृड र बैचारिक काङ्गेसका निम्ति सङ्घर्ष, समन्वय र सहकार्य गर्दै अघि बढिरहने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?