कमल थापाको आक्रोश : ‘अब पनि राजाबाट प्रजातन्त्रमाथि हस्तक्षेप हुँदैन भनेर मुखले भन्ने ?’

लोकपथ
897
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले आफू पार्टी नेतृत्वबाट हट्नुमा राजाको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् ।

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै थापाले सबैको साझा र तटस्ट संस्था राजसंस्था रहे पनि राजनीतिक रुपमा हस्तक्षेप गर्न थालेको आरोप लगाएका हुन् ।

हाल शतप्रतिशत राजावादीहरु भएको पार्टीमा समेत राजाले एउटा समूहप्रति हस्तक्षेप गरेको बताउँदै भोलि राजसंस्था पुनःस्थापना भएमा प्रजातन्त्रमाथि नै हस्तक्षेप गर्ने टिप्पणी गरे । ‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसंग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने ? ’ उनले भने ।

आफूले देशमा अत्यन्त प्रतिकुल अवस्थामा रहेका बेला राजसंस्थाको एजेण्डा बोकेर हिडेको बताउँदै आफूप्रति अन्याय भएको भन्दै धर्मसंकटमा परेको समेत बताए । राज परिवार र निर्मल निवासले राप्रपालाई भजनमण्डली बनाएर आफूलाई समाप्त पार्न खोजिएको समेत उनले बताए ।

‘अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु ।’ उनले भनेका छन्, ‘ यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई ूभजन मण्डलीू बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ूभजन मण्डलीू बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।’

राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन खोजिएको भन्दै आगामी दिनमा राप्रपाभित्र त्यसबारेमा बहस हुने समेत बताए ।
‘राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।’ उनले भनेका छन् ।

त्यस्तै शनिबार सम्पन्न राप्रपाको निर्वाचनबाट आएका नवनियुक्तहरु पदाधिकारी तथा सदस्यहरुलाई बधाई समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?