मोनो रेल सम्भाव्यता अध्ययन थालिँदै

काठमाडौँ- काठमाडौँ र ललितपुर महानगर घेरेको चक्रपथमा मोनो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५ औँ ब्युरो ग्रुप  कम्पनीलाई जिम्मा दिइएको छ । अध्ययनका लागि ६ महिनाको अवधि दिइएको छ ।  भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा शुक्रबार आयोजना गरिएको औपचारिक कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चाइना रेल वेका महाप्रबन्धक लि होङ्गकीले अध्ययनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे  ।

सम्झौता अनुसार, रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आवश्यक पर्ने आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ । सम्झौता अनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश हुनेछ ।
मोनोरेल निर्माण, सञ्चालन, व्यवस्थापन तथा यसको दिगोपना अध्ययनका मुख्य आधार रहेका छन् । यो अध्ययन गर्दा नेपालको प्रचलित कानून र यसले गरेका व्यवस्थाका आधारमा गरिनेछ, गोरखापत्रमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?