राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति विश्वास राख्ने नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस यतिबेला १४औँ महाधिवेशनमा होमिएको छ ।
वडा, प्रदेशसभा, प्रतिनिधिसभादेखि ६ वटा प्रदेशसमेतको अधिवेशन सम्पन्न गरिसकेको कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा होमिएको हो ।
कांग्रेसले गत भदौ १८ गते वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियाको औपचारिक थालनी गरेको थियो । तल्लो तहको अधिवेशन गर्ने क्रममा आन्तरिक विवादका कारण प्रदेश नं २ अधिवेशन भने अब महाधिवेशनपछि मात्रै गर्ने कांग्रेसको तयारी छ । यस्तै केही जिल्लाको अधिवेशन पनि महाधिवेशनपछि नै हुनेछ ।
बयोवृद्ध उमेर नभइ पार्टीका जिम्मेवारी नपाउने रोगजस्तै रहेको कांग्रेसमा यस पटकको अधिवेशन भने केही फरक भयो । वडा, नगर, क्षेत्र, जिल्ला हुँदै प्रदेशमा समेत युवाहरुको उल्लेख्य उपस्थिति देखियो ।
साथै केन्द्रमा पनि यसपटक युवाहरुको बाक्लो उपस्थिति आउने आशा गरिएको छ । त्यसो त धेरै युवाहरु विभिन्न तहको जिम्मेवारीमा आएका छन् भने त्यहाँ नअटाएकाहरु प्रदेश र केन्द्रीय महाधिवेशमा प्रतिनिधि आउनेको संख्या समेत बढेको छ । जसलाई राजनीतिमा युवाहरुको हस्तक्षेपको राम्रो उदाहरणको रुपमा लिन सकिन्छ ।
यसले राजनीतिप्रति वितृष्णा पैदा भएका युवाहरुलाई महाधिवेशनले आकर्षित गरेको छ भन्दा पनि अतिसयुक्ति नहोला । पार्टीले युवाहरुलाई त पोत्साहित गर्यो । तर त्यतिमा मात्रै कांग्रेसको जिम्मेवारी सकिएको छैन ।
पार्टीमा ठूलो त्याग र संघर्ष गरेकाहरुको व्यवस्थापनमा कांग्रेसले कस्तो भूमिका खेल्छ भन्ने कुरालाई पनि महत्वका साथ हेरिएको छ । लामो समयसम्म पार्टीका जिल्ला तहमा बसेर संघर्ष गरेका पुराना नेताहरुलाई केन्द्रीय राजनीतिमा कांग्रेसले कस्तो स्थान दिनसक्छ भन्ने धेरैको चासोको विषय रहेको छ ।

तीनै मध्येका एक हुन्, सोलुखुम्बुका प्रभुराम बस्नेत । लामो समय जिल्लाको नेतृत्वमा रहेका बस्नेत यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । २०२७ सालमा वीपी कोइरालाबाट क्रियाशील सदस्यता लिएका बस्नेतलाई २०३१ सालको टिमुरबोटे काण्डदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनसम्मले चिन्छ ।
त्यति मात्रै नभएर ४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि ६२/६३ को जनआन्दोलनमा समेत उतिकै सक्रियता रहेको छ । २०३१ साल पुस १ गतेको चर्चित टिमुरबोटे काण्डका ज्युँदा सहिदका रुपमा समेत बस्नेतको चिनारी रहेको छ ।
बस्नेत वीपी कोइरालाले आह्वान गरेको पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र क्रान्ति सहभागी भएका थिए । यज्ञबहादुर थापाको कमाण्डमा गठित सशस्त्र विद्रोही समूहमा रहेका बेला १३ जना कमाण्डरहरु मारिएका थिए । जसमा बस्नेतसहित केही बालबाल बाँच्न सफल भए ।
उक्त काण्डपछि लामो समय भूमिगत रहेका बस्नेत झन् सशक्त तबरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भए भने सो क्रममा उनी पटक–पटक जेल समेत गरे ।
यस्तो छ बस्नेतको राजनीतिक जीवन
२०१७ सालमा राजाले ‘कु’ गरेपछि देशमा राजाको एकल शासनसहित देशमा राजनीतिक माहोल चर्किएको थियो । वीपी कोइरालासहित, गणेशमान सिंह, सुवर्णशमशेरलगायतका नेताहरुलाई प्रतिबन्ध लगाइएको थियो ।
तत्कालीन सरकारले राजनीतिक दलमाथि चरम दमन गरेका बेला २०२७ सालमा बस्नेत पञ्चायतविरोधी आन्दोलनमा होमिए । वीपी कोइरालासँगै क्रियाशील सदस्यता लिएका बस्नेतलाई राजनीतिक संघर्षले झन् सक्रिय र दरिलो बनाउँदै लग्यो ।
पञ्चायतलाई परास्त गर्दै प्रजातन्त्रलाई पुनर्स्थापनाका लागि आन्दोलनका क्रममा २०३१ साल बिहान सरकारविरुद्ध आन्दोनल गर्ने ठूलो समूह समातियो । त्यसमध्ये धेरैलाई चरम यातना दिएर मारियो । तर बस्नेत बाँच्न सफल भएका थिए ।
उक्त काण्डमा जोगिए पनि उनको बाँकी जीवन भने सहज भएन । सो क्रममा पटक–पटक जेलमा कडा यातना भोगेका बस्नेत सोलुखुम्बुको जिल्ला कार्यसमिति सदस्य हुन पुगे ।
त्यस्तै तत्कालीन पार्टी सभापति एवं सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले २०४५ सालमा महासमिति सदस्यमा मनोनित गरेका थिए । त्यसयता निरन्तर १८ वर्ष जिल्लाको नेतृत्व गर्न पुगे ।
२०४८ सालमा झापामा भएको आठौँदेखि ११औँ महाधिवेशनसम्म आइपुग्दा दुई दशक सोलुमा एकछत्र राज गरेका बस्नेत विभिन्न समय गरी ७ वर्ष जेल जीवन बिताएका छन् ।
जिल्लाको राजनीतिमा आफ्नो छाप छोड्न सफल बस्नेतलाई केन्द्रीय राजनीतिमा ल्याउन नेतृत्वले पटक–पटक आश्वासन त दियो । तर ठूलो राजनीतिक आन्दोलनबाट खारिएर आएका पुराना नेता बस्नेतलाई केन्द्रीय राजनीतिमा ल्याउन नेतृत्वले आनाकानी गर्नु नेतृत्वले अन्याय गरेको कतिपय बताउँछन् ।
पार्टी फुट्दा होस् या सभापति शेरबहादुर देउवा अफ्ठ्यारोमा परेका बेला समेत साथ नछाडेका बस्नेतले यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सो क्रममा सभापति देउवासँग समेत छलफल गरेका छन् । देउवाले यसपटक केन्द्रीय राजनीतिमा ल्याउने संकेत गरेका छन् ।
युवा नेतृत्वदेखि बस्नेत र बस्नेतका पुस्ताबाट दुःख गरेर आएका पुराना नेताहरुले यस पटक कांग्रेसको केन्द्रमा कति ‘स्पेस’ पाउलान् त्यो भने हेर्न बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया