कांग्रेसले कोरोना महामारीका बेलामा महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा

RSS
156
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उनले कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताएका हुन् । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह समेत गरे । उनले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक पुनः सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गरे ।

आफू अहिले गठनबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उनको भनाइ थियो । साथै उनले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराए ।

प्रधानमन्त्री देउवाले फरक प्रसंगमा सत्ता गठबन्धन दलहरुबीच चुनावी गठनबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको र बाँकी निर्वाचनमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?