जाडोमा माछा खानुहोस्, यस्ता छन् फाइदाहरू

लोकपथ
754
Shares

अहिले मौसम चिसो छ । चिसो मौसममा ब्याक्टेरियाबाट हुने विभिन्न किसिमका सङ्क्रमणहरू बढी देखिने गर्छ । जसको कारण रोगब्याधी हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने किसिमका खानपिन गरेमा यस्ता समस्यासँग जुध्ने पहिलो आधार शरीर भित्रै तयार हुन्छ । त्यसैले जाडो महिनामा बिशेषत स्वस्थ र पौष्टिक खानेकुरा खान सकियो भने चिसो मौसममा हुने विभिन्न सङ्क्रमणबाट जोगिनु का साथै शरीरलाई स्वस्थ र निरोगी राख्न समेत सकिन्छ ।

जाडो महिनामा देखा पर्ने विभिन्न किसिमका शारीरिक समस्याहरू जुध्न माछा सेवनलाई पनि उत्तम मानिन्छ । जाडो महिनामा माछाको सेवनले शरीरमा धेरै किसिमका फाइदा गर्ने कुरा विभिन्न अनुसन्धानहरूले पुष्टि गर्दै आएको छ ।

खोकी र ज्वरोसँग लड्न
माछामा पाइने ओमेगा थ्री फ्याट्टी एसिडले फोक्सोमा श्वासप्रश्वासको मात्रालाई बढाउन मद्दत गर्छ । त्यसैले जाडो महिनामा माछाको सेवन गर्ने हो भने फोक्सोमा चिसोले गर्ने सङ्क्रमणलाई कम गर्न सकिन्छ । साथै जाडो महिनामा देखा पर्ने रुघा र अरू सङ्क्रमणबाट समेत जोगाउँछ ।

छालाको समस्या
जाडो महिनामा धेरैलाई छाला सम्बन्धी विभिन्न किसिमका समस्याहरू देखा पर्ने गर्छ । माछामा पाइने ओमेगा थ्री र ओमेगा थ्री फ्याट्टि एसिडले छालालाई राम्रो बनाउन मद्दत गर्छ । यसको सेवनले छालाको बाहिरी भागमा चिसोले पार्ने प्रभावलाई रोकेर छालालाई मुलायम बनाउने काम गर्छ ।

गठियाको समस्या
चिसो मौसममा धेरैलाई हड्डीको गाँठो भएको भागमा सुन्निने समस्या हुन्छ । यो समस्या धेरैलाई दीर्घकालीन रूपमा देखिने गरेको छ । यदि जाडो महिनामा माछाको सेवन गर्ने हो भने यसमा रहेको ओमेगा थ्री फ्याट्टि एसिडले हड्डीको गाँठो सुन्निने समस्यामा समेत कमी ल्याउँछ ।

राम्रो चिल्लो
पोषणविद्हरूका अनुसार माछामा पाइने चिल्लो पदार्थ (बोसो) मानव शरीरलाई स्वास्थ्य वर्धक मानिन्छ । माछाको सेवनले यसमा रहेको चिल्लो पदार्थ ओमेगा थ्रीले मस्तिष्क र आँखालाई स्वस्थ राख्न मद्दत गर्छ ।

स्वस्थ मुटु
माछामा पाइने चिल्लो पदार्थले मानवको मुटुलाई राम्रो गर्ने विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । यदि मुटुको बिमारीले अन्य जनावरको मासु र त्यसको चिल्लो खानु भन्दा सातामा एक पटक माछा खानुलाई राम्रो मानिन्छ ।

भिटामिनको श्रोत
माछामा भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ । यो बाहेक माछामा धेरै किसिमका पोषक तत्त्वहरू पनि रहेको हुन्छ । माछाको नियमित सेवनले शरीरलाई चाहिने धेरै किसिमका भिटामिनहरू प्राप्त हुन्छ र शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्न मद्दत गर्छ ।

तनाव व्यवस्थापन
चिसो मौसममा धाम नलाग्ने, वातावरण धुम्म भएको कारण धेरै व्यक्तिहरू यो मौसममा उदास भइरहेका हुन्छन् । द जर्नल अफ साइक्राटिक एण्ड न्युरो साइन्समा प्रकाशित एक शोध अनुसार माछा वा माछाको तेलको नियमित सेवनले मस्तिष्क सम्बन्धी विभिन्न किसिमका समस्याहरू कम गर्छ भनिएको छ ।

आँखालाई पनि फाइदा
आँखाको ज्योतिलाई तेजिलो बनाउने एउटा काम ओमेगा थ्री फ्याट्टि एसिडले पनि गर्छ । एजेन्सी फर हेल्थ केयर रिसर्च एण्ड क्वालिटीका अनुसार माछामा भएको फ्याट्टि एसिडले आँखालाई स्वस्थ बनाउन मद्दत गर्छ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?