हारपछि फुट्यो कमल थापाको ‘कमलो मन’ : राजालाई गालीदेखि मार्मिक गीतसम्म !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा अत्तालिएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा उनका निकटतम प्रतिद्धन्द्धी राजेन्द्र लिङ्देनसँग २२७ मतान्तरले पराजित भए । थापाले १ हजार ६ सय २७ मत ल्याए भने लिङ्देनले १ हजार ८ सय ४४ मत ल्याएर निर्वाचित भए ।

लिङ्देन निर्वाचित भएपश्चात सामाजिक सञ्जालमा थापा आक्रोशित रुपमा प्रस्तुत भएका छन् । थापाले कहिले राजातर्फ आक्रोश व्यक्त गरेका छन् भने कहिले हिमानी त कहिले आफैँलाई सम्हाल्न गीतका लाइनहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । पराजयपश्चात आफू निकटका नेताहरुसँग छलफल समेत गरे ।

विगत २ दशक पार्टीको नेतृत्व गरेका थापाले मंसिर १५ गते पार्टीको कार्यक्रम उद्घाटन सत्रमा बोल्दै सरकारमा गएका बेला आफूले काम गर्न नसकेकोप्रति आत्मआलोचना गरेका थिए । एकता महाधिवेशनमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको लिङ्देनलाई समर्थन रहेको थियो । त्यसो त पूर्वराजाको समेत लिङ्देनलाई समर्थन रहेको बाहिरिएसँगै थापाको जित नहुने संकेत देखिएको थियो ।

आइतबार बिहानै मत परिणाम सार्वजनिक भएसँगै थापा सामाजिक सञ्जालमा आक्रामक रुपमा प्रस्तुत हुन पुगे ।

उनले लिङ्देनलाई बधाइ त दिए तर उनको भित्रि मनले भने स्वीकार गर्न नसकेको बधाई ज्ञापनबाट पुष्टि हुन्छ । उनले लिङ्देनले जित्नु निर्मल निवास अर्थात राजाको समर्थन रहेको भन्दै टिप्पणी गरे । उनले सो कुरालाई ‘निर्मल निवासको नांगो नाच’ को संज्ञा दिए ।

मुलुकमा गणतन्त्र आएदेखि आफूले राजसंस्थाको नारा लिएर हिँडे पनि सो को पुरस्कार हार पाएको भन्दै राजाप्रति पनि आक्रोशित भए ।

उनको आक्रोशितको क्रम अझै रोकिएन । ट्वीट मार्फत पूर्वयुवराज्ञी हिमानी शाहले लिङ्देनलाई दिएको बधाईमा रिट्वीट गर्दै चाँडै राजसंस्था पुनःस्थापना हुने भन्दै टिप्पणी गरे । उनले राजसंस्था पुनःस्थापना हुने भन्दै हिमानीलाई बधाई समेत दिए ।

त्यतिमा मात्रै थापा रोकिएनन् । उनले आफूले हार स्वीकार गर्न नसेकेको स्पष्ट देखाउँदै राजेन्द्र थापाको गीतका अंशहरु सामाजिक सञ्जालमा सेयर गरे । उक्त गीतको हरफहरु सेयर गर्दै आफ्नो अन्तर्मन भित्रको मान्यतामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको पोस्ट गरे ।

उनले सामाजिक सञ्जालमा गरेको पोस्टलाई फेसबुक प्रयोगकर्ताहरुले पराजयको स्वीकार गर्न नसकेको आरोप लगाएका छन् भने कतिपयले फेरी पार्टी फुटाउने संसय व्यक्त गरेका छन् ।

थापा आगामी दिनमा कसरी अघि बढ्छन् हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?