फरार एसएस्पी खत्री सहित ७ जनालाई पक्रन ‘रेड कर्नर नोटिस’ को तयारी

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी काण्डमा फरार नेपाल प्रहरीका प्रहरी एसएस्पी वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री सहित ७ जना अभियुक्त विरुद्ध रेड कर्नर नोटिस जारी गरिने भएको छ ।
प्रहरी प्रधान कार्यालयले इन्टरपोल प्रहरी मुख्यालय मार्फत फरार अभियुक्त खत्री र गायव गरिएको भनिएको साढे ३३ किलो सुनका मालिक मोहनकुमार अग्रवाल, सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।
इन्टरपोल प्रहरीबाट रेडकर्नर नोटिस जारी गरिएमा उनीहरुलाई इन्टरपोलमा आवद्ध विश्वका सम्पूर्ण सदस्य राष्ट्रका प्रहरीले खोजी गर्ने छन् । जुन देशमा पक्राउ गर्यो सो देशको इन्टरपोल प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने ब्यवस्था रहेको छ ।
सुन तस्करी तथा सुनका भरिया सनम शाक्य हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरिय समितिले उनीहरुको पक्राउका लागि रेड कर्नर नोटिस जारी गर्न आग्रह गरेको हो । फरार यी अभियुक्तहरुको पक्राउसंगै सुन घटनाका थप रहस्य खुल्ने बताइएको छ ।
एसएस्पी खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका अभियुक्त हुन । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले खत्रीलाई एसएस्पीको पोशाक सहित नियन्त्रणमा लिइ कारवाही गरेको थियो । तर, अदालतले उनलाई सो घटनामा सफाई दिएको थियो ।
प्रहरीका उच्चअधिकारीको सहयोगमा विमानस्थलबाट सो समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ । एक पूर्व डिआइजी, दुई जना बहालवाला एसएस्पी सहित ९ प्रहरी अधिकारी र अन्य गरी ६५ जनाविरुद्ध मुद्दा चलेको छ ।
सुन तस्करी काण्डमा मुख्य अभियुक्त ‘गोरे’ गत मंगलबार पक्राउ परेका थिए । जिल्ला अदालत, मोरङमा उनको बयान जारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?