उम्मेदवारी दर्ता गराउँदै कमल थापाले भने- ‘अबबाट राप्रपामा टुटफुटको अवस्था आउँदैन’

लोकपथ
702
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा निर्वतमान अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार दिउँसो थापाले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्दै एकता महाधिवेशनबाट पार्टीभित्रको फुटको अवस्था सदाका लागि अन्त्य भएको बताएका छन् । वर्तमान तीनै अध्यक्षले मन, वचन र कर्मले आगामी दिनमा कहिल्यै पार्टी फुटको अवस्थामा नजाने बताए ।

‘म यो विश्वास दिलाउन चाहान्छु कि अब आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्यै फुट्ने छैन । आजसम्म हामीहरु जुन ३ अध्यक्षहरु छौं । पशुपतिशमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र म । हामी तीनै जनाले मन, वचन र कर्मले प्रतिबद्धता व्यक्त गरेका छौं कि आगामी दिनमा कुनैपनि हालतमा, कुनैपनि अवस्थामा पार्टीलाई फुट्न दिने छैनौँ । यसकारणले पनि मलाई लाग्छ अब यो टुटफुटको श्रृंखला सधैँको लागि अन्त्य भयो । अब राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन फेरि गरिराख्नुपर्ने आवश्यकता पर्दैन ।’ थापाले भने ।

त्यस्तै एकता महाधिवेशनमा आफूले मुख्य तीन उदेश्यहरु लिएर उम्मेदवारी दिएको समेत बताए । राप्रपालाई एक बनाइ राख्ने, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्दान्तमा आधारित राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने र आगामी निर्वाचनमा पार्टीलाई सम्मानजनक परिणाम दिलाउने उदेश्य रहेको बताए ।

‘भरखरै हामीले उमेदवारी दिएका छौँ । जसको मूख्य रुपले ३ वटा उद्देश्यहरु छन् । पहिलो राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई अक्षुर्ण रुपमा कायम राख्ने । दोस्रो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्दान्तमा आधारित राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने । तेस्रो आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सम्मानजनक सफलता हासिल गराउने रहेको छ ।’ उनले भने, ‘यसका साथै नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधान गर्नका निमित्त शसक्त र प्रभावकारी भूमिका खेल्न सक्ने एउटा शक्ति निर्माण गर्ने उद्देश्यका साथ हामीले यो उमेदवारी दिएका छौं ।’

त्यस्तै पार्टीमा युवा नेतृत्व आएको प्रति आफू सकारात्मक रहेको समेत बताए । ‘यसलाई मैले अत्यन्तै सकारात्मक रुपमा लिएको छु । हाम्रो पार्टीमा नयाँ र युवा प्रतिनिधित्व तयार हुदैछ भन्ने हो ।’ उनले भने ।

अन्य महाधिवेशनपछि राप्रपा फुटेको स्मरण गराउँदै आगामी दिनमा भने त्यस्तो श्रृंखला नदोहोरिने समेत बताए । यो महाधिवेशनमा युवाहरुको प्रतिनिधित्व धेरै भएको र युवा पुस्तालाई प्राथमिकताका साथ अगाडी बढाउने उनको भनाइ रहेको छ । आफू र आफ्नो प्यानलले अत्याधिक मतसहित विजय हासिँल गर्ने बताउँदै विजय पश्चात राजेन्द्र लिङ्देनलाई समेत सँगै लिएर अघि बढ्ने बताए ।

‘पटक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले टुटफुट विभाजनको पीडा भोगेको छ । खासगरी महाधिवेशनपछि पार्टी फुट्ने विगतको तीतो अनुभवले गर्दा पनि पार्टीका कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुमा चिन्ता पनि रहेको हामीले महसुस गरेका छौं । तर यसपटक नयाँ युवा पुस्तालाई उच्चतम प्राथमिकताका साथ जिम्मेवारी दिएर अगाडी लैजान्छौँ । यसमा कुनै शंका गर्नूपर्ने छैन । निश्चय पनि महाधिवेशनका प्रतिनिधिहरुले प्रजातान्त्रिक ढंगबाट निर्णय गर्नुपर्ने थियो त्यो स्वीकार्य हुन्छ र अहिलेको अवस्थामा हामीले निर्वाचनमा अत्यधिक बहुमतबाट बिजय हासिल गर्छौँ ।’ उनले भने, ‘र त्यसपछि राजेन्द्र लिंदेल लगायत सबैलाई समेटेर हामी अगाडी बढ्नेछौँ । सबैको सद्भाव स्नेह हामीलाई प्राप्त छ ।’

शनिबार हुने राप्रपाको एकता महाधिवेशनको निर्वाचनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?