घडेरी सम्याउनमै सीमित भए स्वास्थ्यचौकीका भवन

RSS
0
Shares

रोल्पा । जिल्लाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्यचौकी भवन शिलान्यास भएको एक वर्ष पूरा हुँदासमेत निर्माण अगाडि बढ्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्षको मंसिर १५ गते देशभरका ३ सय ९६ स्थानीय तहको स्वास्थ्यचौकी भवन एकैपटक शिलान्याश गर्ने कार्यक्रम अन्तर्गत र जिल्लाका ती स्वास्थ्यचौकीको पनि शिलान्याश गरिएको थियो ।

सरकारले पाँच, १० र १५ शय्याको स्वास्थय सुविधा दिने जनाउँदै ती स्वास्थ्यचौकी भवन शिलान्यास एकैपटक गरेको थियो । यहाँका थवाङ, परिवर्तन, माडी र त्रिवेणी गाउँपालिकामा स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको थियो । शिलान्याश गरिएका ती भवनमध्ये अधिकांश भुइँ खोस्रनेबाहेक थप काम भएका छैनन् ।

थवाङ गाउँपालिकामा भवन निर्माणका लागि सम्झौता भइसकेको र घडेरी सम्याउने जगको पिलर उठाउने काम भइरहेकोे गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले जानकारी दिए ‘कामको सुस्तता हेर्दा निर्माण कहिले सकिने हो भन्न सकिने अवस्था छैन’, उनले भने ।

परिवर्तन गाउँपालिकामा भने करिब सात प्रतिशत काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ । घडेरी सम्याउने काम अन्तिम चरणमा भएको जनाउँदै थप काम अघि बढ्ने बताए । सम्झौतापश्चात बोलपत्र प्रक्रियामा अघि बढेको उनले जानकारी दिए ।

माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनका अनुसार जग्गाको विषयमा केही समय विवाद भएकाले निर्माण अवरुद्ध भए पनि विवाद समाधानसँगै घडेरी सम्याउने काम सकिएको बताए । निर्माणको जिम्मा लिएको कम्पनीले सडक कालोपत्रका काम गरिरहेको र त्यो काम सकिनेबित्तिकै स्वास्थ्यचौकी भवन निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिए ।
त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले आफ्नो गाउँपालिकामा पाँच प्रतिशतमात्र काम भएको जानकारी दिए । उनले निर्माणको जिम्मा लिएको कम्पनी तिहार मनाउन घर गएको र अहिलेसम्म नआएको र बारम्बार फोन गरेर बोलाउँदासमेत रकम थप भएपछि मात्र काम सुरु गर्ने शर्त राखेको बताए ।

संघीय सरकारको करिब १८ करोड रुपैयाँ लागतमा स्वास्थ्यचौकी भवन निर्माण हुने भनिए पनि करिब १३ करोड रुपैयाँको मात्रै बोलपत्र भएका स्थानीय तहका प्रमुखहरूको भनाइ छ । मन्त्रालयले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन सो कार्यक्रम अघि सारे पनि भवन निर्माणकै काम अलपत्र परेको छ । ती स्वास्थ्यचौकी भवन सम्झौता भएको मितिले करिब दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?