अझै पानी बोकेर ल्याउनुपर्ने बाध्यता : यस्तो छ पानीको पीडा

RSS
143
Shares

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुंगका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर अन्यत्र बसोबास गर्न थालेपछि गाउँमा सन्तानविहीन वृद्ध दम्पतीले पानीकै निम्ति सास्ती खेपेका छन् ।

संघीय, प्रदेश र स्थानीय सरकार रहे पनि गरिब दिनदुःखीले आधारभूत आवश्यकता पूरा गर्न सरकार चुकेका छन् । नजिकको सरकार वा सिंहदरबारको अधिकारको गाउँगाउँमा भनिए पनि गरिब नागरिकले आधारभूत समस्या खेपेका छन् । वास्तविक गरिब पहिचान गरी सरकारले गरिब उत्थान कार्यक्रम ल्याए पनि वृद्ध परिवार भने समस्याबाट मुक्त हुनसकेका छैनन् ।

पाल्पाको हार्थोक छहरा सडकखण्डअन्तर्गत पर्ने यो क्षेत्र चारतिर जंगलले घेरिएको छ । नजिकै बस्ती छैन, त्यही एक्लो घरमा बसोबास गर्ने यी ७२ वर्षीय रामबहादुर खड्का र उनकी श्रीमती सीताको पनि उमेर ७० नाघिसक्यो । तर दिनरात पानीका निम्ति जंगलको बीच भागमा रहेको कुँवा धाउनुपर्ने अवस्था हटेको छैन, कहिले आफन्तहरूको घरमा पानी माग्न पुग्नुपर्ने बाध्यता टरेको छैन ।

सवारी सञ्चालन नहुँदा टोडकेमा पानी पिउन पैदलयात्रु त्यो घरमा पस्ने गर्थेँ । रामबहादुर र सीताले घण्टौँ समय बिताएर डोकोमा पानी बोकेर घरमा ल्याउने गर्थेँ । त्यही पनि पैदलयात्रुलाई मागे जति दिन पाउँदा खुशी हुन्थे । तर पहिलाका पानीका दाता अहिले यी जोडीलाई पानीको व्यवस्थापनको पिरलोले सुताइरहेको छ । ‘एक घर, एक धारा’को नारा पनि यी वृद्ध दम्पतीका निम्ति कार्यान्वयनमा आउन सकेको छैन । ‘श्रीमान् बिरामी छन्। छोरीहरूका विवाह गरी घर गएपछि जंगलको बीच भागबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’ सीताले भनिन् ‘श्रीमान् रामबहादुरको कम्मर निकै दुख्छ, रिंगटा लाग्छ । उनले केही काम गर्न नसक्ने भएका छन् । बुढेसकालमा पानी बोकेर खान सक्ने स्थिति नै छैन । मैले जसोतसो गरी पानीको बोकेर ल्याउँछु, उकालो आरालो गर्न समस्या भए पनि पानीबिना बाँच्न नै गाह्रो रहेछ ।’

आम्दानीका नाममा रामबहादुरको सामाजिक सुरक्षा भत्ता मात्र हो । सन्तानका नाममा तीन छोरी रहे पनि उनीहरूका विवाह गरी घरजम गरिसकेकाले माइती कमै पाइला टेक्छन् । खड्कालाई पानीजस्तै, साँझ बिहान गाँसको पनि समस्या हुँदै गएको छ । हातीढुंगाको पानी लिफ्टमार्फत तानेर घर नजिकै ट्यांकी निर्माण गर्न गाउँलेलाई सल्लाह दिएको तर गाउँले कुरा नसुनेपछि रामबहादुर चिन्तित छन् । त्यो पानी ठूलो पोखरामा आउँछन् भन्छन्, ‘खड्काको घर डाडाँमा रहेकाले लिफ्टमार्फत तानेको पानी ल्याउनसमेत समस्या रहेको बताए ।

‘पाँच भाइमध्ये चार भाइ पानीकै अभावमा सहर पलायन भएका छन् । लाखौँ खर्चिएर बनाइएका घरहरू छाडेर अन्यत्र बसोबास गर्न बाध्य भएका हुन् । सहरमा भाडा तिर्नुपर्ने आफ्नै घरचाहिँ भत्किएका र जंगलले घरिएका छन् । जग्गाजमिन प्रशस्त रहे पनि सिँचाइको सुविधा छैन । उत्पादित अन्नबाली बाँदर, मृगलगायत वन्यजन्तुबाट जोगाउन समस्या रहेको छ’, रामबहादुरको गुनासो छ ।

बाँदरको समस्याले पाँच वर्षदेखि मकै बाली उत्पादन गर्न छाडिएको छ । बारीमा वन्यजन्तुको समस्याले अम्रिसो रोपिएको छ । अम्रिसोबाट कुचो र घाँस दुवै हुन्छ । त्यसैले आम्दानी निम्ति भैँसीपालन गरिए पनि घाँस काट्न जाँदा चितुवाको समस्या रहेको सीता खड्काको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?