पोखरामा पनि केबुलकार सरर

लोकपथ
39
Shares

पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको थियो । दुई हजार ४०० मिटर लामो यो केबुलकारका १३ टावर छन् । यो केबुलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ जनाको सिट क्षमता रहने जनाइएको छ । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।

करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्धारित समयभन्दा बढी लागेको त्रिपाठीले बताए ।

केबुलकार सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिने र ८० देखि १०० जनाले प्रत्यक्ष रोजगार पाउने त्रिपाठीले जानकारी दिए । माथिल्लो स्टेशन भवनमा स्काइ हेवन बेलुन रेष्टुरेन्ट, भ्यूटावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, बगैँचासहितको संरचना निर्माण भएको छ ।

केबुलकारमा जाने र आउने शुल्क रु ६०० निर्धारण गरिएको छ भने स्थानीयवासी, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि सहुलियत व्यवस्था गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?