प्रचण्डको दाबी : ‘देशमा माओवादीको विकल्प छैन’

लोकपथ
104
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् । उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए ।

अध्यक्ष दाहालले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेको प्रति लक्षित गर्दै नाम कम्युनिस्ट भए पनि काम सामन्तीको भएको बताए ।

उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनको लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्‍याउने, समाजवादको यात्रा सुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन । मानिसहरुलाई कहिलेकाहीँ भ्रम पर्छ, अरुले पनि गर्छन् कि भनेको जस्तो, जो हिजो गणतन्त्रकाबिरुद्ध लागे ती अहिले पनि गणतन्त्रिवरोधी नै छन्, जो हिजो संघीयताको विरुद्ध लागे त्यो अहिले पनि संघीयताका विरुद्धै छन्, महिलालाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन् । दलितहरुलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन् । यो सबै चिज माओवादी आन्दोलनकै परिणाम भएको हुनाले माओवादी बलियो हुँदा यी सबै परिवर्तन र उपलब्धिहरु बच्छन् पनि, तिनको रक्षा पनि हुन्छ र थप उपलब्धिको निम्ति अघि जान सकिन्छ । माओवादी कमजोर भयो भने हामीले देख्यौँ नि कति छिटो, अलिकति माओवादी विभाजन भएको देख्दा, माओवादी संगठन भएको कि भन्ने लागेपछि त संविधान नै मिच्ने, च्यात्ने, जहाँ समावेशी, समानुपातिक छ त्यसलाई हटाउने, गणतन्त्रै उल्ट्याउन खोज्ने, हिजो मात्रै एउटा राप्रपाको अधिवेशनमा एउटा आफूलाई पुरानो कम्युनिस्ट भन्ने मान्छे त पूरै राजाको प्रशंसा गरेर राप्रपा मात्रै देशभक्त भनेको जस्तो गरे, मैले उनलाई तिमी त राप्रपाको अध्यक्ष हुने तयारी गरेछौ भने, यस्ता पनि कम्युनिष्ट छन्, नाम कम्युनिष्ट छ, काम सामन्तीको जस्तो गर्छन् । त्यसकारण माओवादी केन्द्र बलियो बनाउने यो परिवर्तनको रक्षाको लागि मात्रै होइन, राष्ट्रकै रक्षाको लागि, राष्ट्रिय एकताको रक्षाका लागि सबै उत्पीडित वर्ग, समुदायको हक अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प नेपालमा छैन ।’

अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरे । उनले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताए । उनले मधेशी जनताको, दलित, जनजातीहरुको हकहीतको कुरालाई लिएर आफूले संविधान संसोधनको प्रश्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संसोधन हुन नसकेको उल्लेख गरे । अध्यक्ष दाहालले नेकपा एमाले जनजातीको, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचानको बिरोधी रहेको आरोप समेत लगाए ।

अध्यक्ष दाहालले भने, ‘मधेशमा अलि ठूलो भ्रम थियो, के भ्रम दिने कोसिस गरियो भने माओवादीले संघीयता छोड्यो । जुन माओवादीले संघीयताको निम्ति हजारौँको बलिदान गर्‍यो, त्यही माओवादीलाई त्यस्तो झुटो आरोप लगाएर तथाकथित मधेशवादी पार्टी बनाएर अनि यिनीहरु हुन् मधेशको मुक्ति गर्ने भनेको जस्तो गरी जो बास्तवमा मधेशी जनताको विरोधी, त्यहाँका मजदुर, किसानविरोधी, त्यहाँका, दलित, मुस्लिमविरोधी, जो शक्ति हो, तिनीहरुलाई मधेशको मशिहाजस्तो गरेर प्रस्तुत गर्ने कोसिस भयो । अनि मैले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रश्ताव पारित नभएको हो । तपाईँहरुलाई थाहा छ, एमालेको केपी गुट जनजाितीविरोधी छ, दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको विरोधी छ, उसैको कारणले संविधान संशाेधन नै भएन तर अहिले कतिपय जसले तपाईँहरुलाई भ्रम दिए ओर्जिनल त अग्र्यानिक एमाले केपी गुटकै मान्छे थिए । बीचमा म सचिन्छु, म माओवादी हुन्छु भनेर पनि आए, तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखेपनि बाँगाको बाँगै भनेजस्तो फेरि एमालेको केपी गुटमा नै गए ।’

अध्यक्ष दाहालले देशभर अहिले झन्डै ८ लाख सदस्यहरु नेकपा माओवादी केन्द्रमा नवीकरणमा आइसकेको भन्दै अझै केही समय पाएमा त्यो संख्या १० लाख पुग्ने दाबी गरे । उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताए ।

अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेण्डा भनेको माओवादीकै एजेण्डा भएको बताउँदै केही समय काठमाडौं केन्द्रित भएर नेताहरुको काम गर्दा घाइते, अपाङ्ग र शहीदहरुप्रतिका एजेण्डा बिर्सिएर गल्ति गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता गरे ।

उनले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, जनता र उनीहरुको मुक्ति आन्दोलनलाई निस्कर्षमा पुर्‍याउने कुरा जनतासमक्ष प्रश्तुत गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरे । अध्यक्ष दाहालले देशमा जनता र कार्यकर्ता नबिग्रिएको बरु नेताहरु नै बिग्रिएको भन्दै नेताहरु सच्चिन्छौँ भनेपछि सबै कुरा लयमा आएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?