एनएमबी बैंकले रच्यो इतिहास : ‘बैंक अफ दि इयर एसिया २०२१’ घोषित

लोकपथ
169
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त एनएमबी बैंकले आफ्नो सम्मानको सूचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ । जुन नेपाली बैंकिङ इतिहासमै पहिलो पटक प्राप्त भएको पुरस्कार हो । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकर को निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डको लागि एनएमबी बैँकलाई छनोट गरेको हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।

एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैंमा एउटा ऐतिहासिक उपलब्धि भएको बैंकले जनाएको छ । यो सँग–सँगै एनएमबिले द बैंक अफ द इयर २०२१ को अवार्ड पनि जितेको छ । एनएमबीको यो ५ वर्षमा चौथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।

बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट समस्त बैंकिङ क्षेत्रको तर्फबाट ग्रहण गरे । उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले दि बैंक अफ दि इयर एसिया २०२१ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

सन् २००० मा स्थापित बैंक अफ द इयर अवार्ड प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितिको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैली प्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको हो । बैंकले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको छ ।

बैंकको विकास प्रक्षेपणमा पनि उल्लेखनीय वृद्धि भएको छ जुन बैंकको लगातार वृद्धि भइरहेको ब्यालेन्स सिटले पुष्टि गर्छ । परम्परागत बैंकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कल मार्फत प्थ्ऋ अपडेट गर्ने सुविधा ल्याउने र “एनएमबि सापटी” मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नवीनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकको देशभरी २०१ शाखा सञ्जाल मार्फत सेवा दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?