यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जीत, दोस्रो स्थानमा उक्लियो

RSS
52
Shares

वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउँदै तेस्रो जीत दर्ता गरेको हो ।

यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेट र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो जीत निकालेको सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । दश अङ्कका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ ।

आज प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा ग¥यो । सुदूरपश्चिमका लागि अर्जुन साउद र वसन्त कार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जीत दिलाएका हुन् । तेइस रनमा ४ विकेट गुमाएर धर्मराएको सुदूरको पारी सम्हाल्दै अर्जुन र वसन्तले पाँचौँ विकेटका लागि ७१ रनको साझेदारी गर्दै जीत हासिल गरे । वसन्तले ३७ र अर्जुनले ३२ रन जोडे ।

प्रदेश १ का अभिनय राजवंशीले दुई तथा श्रवण किस्कु र अङ्कित सुवेदीले समान १÷१ विकेट हात पारे । त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको १ प्रदेश २४ ओभरमा मात्रै ९० रनमा सीमित भयो । उसका लागि अङ्कित सुवेदी एक्लैले ६१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रनसमेत जोड्न सकेनन् ।

सुदूरपश्चिमका शेर मल्लले ४, नरेन्द्र साउदले ३ र कैलाश ऐरीले २ विकेट हात पारे । शेर मल्ल खेलका म्यान अफ द म्याच चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?