भक्तपुर- ‘नरुनुस् न आमा, नरुनुस् न दादा,’ स्कुल पोसाकमै रहेकी अनुजाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए ।
दुर्घटनामा आमा र भाइ गुमाएकी लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षीया अनुजा घिमिरे स्कुलबाटै अस्पताल आएर रुँदै अरूलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन ।
काभे्रको साँगाबाट बुधबार करिब १२ः३० बजे तीव्र गतिमा आएको बा३ख ६६७४ नम्बरको ट्रिपरले अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।
घटनामा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका–६ घर भई विगत १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उनको छोरा १३ वर्षीय अरबिन घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । शवलाई भक्तपुर अस्पतालमा पठाइएको, ठक्कर दिने ट्रिपरलाई प्रहरी वृत्त जगातीमा राखिएको र फरार रहेका चालकको खोजी भइरहेको उनले जानकारी दिए, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया