राप्रपाको परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न माधव नेपालको आग्रह

लोकपथ
399
Shares

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावनाबमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढ्न पनि सुझाव दिए । राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा बोल्दै उनले नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोहीअनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढनुपर्ने बताए ।

अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढन पनि राप्रपाको नेतृत्वलाई सचेत गराए ।

उनले भने, ‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाई राख्नोस् । तर राष्ट्रियता नेपाली जनताको जुन भावना हो । त्यो भावनालाई ठिक ढंगले आत्मासात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् । परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं । अगाढि बढिसक्यो इतिहास । इतिहास पछाडि जाँदैन अव । तर हाम्रो देशको आफ्नै विशेषता छ । हामीले हाम्रो देशको आफ्नो विशेषतालाई बिर्सियौ भने प्रत्येक व्यक्तिको आफ्नो विशेषता हुन्छ । प्रत्येक देशको आफ्नो विशेषता हुन्छ । हो यो विशेषतालाई बिर्सियौं भने र अरुको नक्कल गर्न थाल्यो भने पनि त्यसले पनि बिग्रिन्छ । त्यसो हुनाले नेपाली जनताको चाहना र भावना के छ ? यस अर्थमा मैले भन्ने गरेको छु– नेपालमा तीन वटा चिज महत्वपूर्ण छन् । नेपाल दुईटा धर्मको उद्गम थलो भएको छ । हिन्दु धर्म र बुद्ध धर्म । र नेपाल सर्वोच्च शिखर सगरमाथाको देश पनि भएको छ । यसप्रति हामीले गौरवबोध गर्नु पर्दछ । र संसारमा बताउनु पर्दछ–कि नेपाल एउटा यस्तो देश, जहाँ जातीय द्वन्द्व छैन । धार्मिक द्वन्द्व छैन । यो देशमा नेपालको आफ्नो किसिमको जुन स्थिति विद्यमान छ । राष्ट्रिय एकताको जुन भावना छ, जातीय सदभावको भावना छ । त्यसलाई दह्रो बनाउने काम गरौं । कहीँ अनुचित कुरा छन, त्यसलाई हटाऔं । र सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं । प्रतिगमनतर्फ कोही नलागौं ।’

अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?