ईश्वर पोखरेलको आरोप : ‘पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्यायो’

लोकपथ
210
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय सीमा सुरक्षा बलले तुईन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुईक्क बोल्न नसकेको भन्दै राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन नसकेको दाबी समेत गरे । बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकताको महाधिवेशनमा बोल्दै उनले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले जुनसुकै विचारधारमा उभिएको भएपनि राजनीतिक दलहरुले राष्ट्रलाई सर्वोपरी ठानेर अघि बढनुपर्ने बताए । उनले भने, ‘वर्तमान सरकार र सत्तारुढ दलहरुले संविधानको पालना गर्ने कुराको मतलव राख्नु पर्दैन । कानूनको बर्खिलापमा गए हुन्छ । जारी भएका विकासका योजनाहरुलाई समाप्त पार्ने कुरा गरे हुन्छ । राष्ट्रिय स्वाभिमान नामको चीजलाई लत्याए हुन्छ । यस खालको स्थिति हामीले देखिराखेका छौं । म यहाँहरुलाई यो महाधिवेशन सफलहोस् भनेर शुभकामना दिईरहँदा एउटा निवेदन मैले गर्नै पर्दछ कि हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएको हौं । एउटा कुरामा हामी सबैको ध्यान जान जरुरी छ । देशभन्दा ठूलो अरु केही हुन सक्दैन । देश हाम्रो लागि सर्वोपरी हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र स्वभामानको रक्षाका लागि आफ्नो पार्टीसँग सहकार्य गरेर अघि बढन पनि राप्रपाका नेताहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?