संसारभरका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

लोकपथ
286
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

बुधबार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश तथा विदेशका लगानी कर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उनले नेपालमा लगानी गर्नेहरुको सम्पत्ती र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए । प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकायहरु मिलेर काम गर्नुपर्ने बताए । उनले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताए । प्रधानमन्त्री देउवाले आर्थिक पुनर्उथानलाई तीव्रताका साथ अघि बढाउन, मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकार प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘सरकार तथा निजी क्षेत्रले गरेको कमी कमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ, त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन, निजी क्षेत्र र सबै सरोकारवालाहरुको संयुक्त प्रयासबाट मात्रै यो सम्भव छ । यस काममा हामीलाई विदेशी विकास साझेदारको सहयोग उत्तिकै जरुरी छ । अर्थतन्त्रमा कोभिड १९ को एकदमै गहीरो प्रभाव परेको छ । विगत दुई वर्षम मुलुकले अर्थतन्त्रमा निकै ठूलो समस्या प¥यो । आर्थिक वृद्धिदर पनि न्यून भयो । यो सबे कोभिडकै कारणले हो भन्ने कुरा स्पष्ट भइसकेको छ । तर आउने दिनहरु सधैँ अफ्ठ्यारो हुँदैनन् होला । कोभिड १९ को महामारी सकिए, नसकिए पनि हामी सामान्य अवस्था तिर आउँदै छौँ । अब आर्थिक पुनर्थानलाई तीव्रताका साथ अघि बढाउन सरकार प्रतिवद्ध छ । मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन, व्यवसायको लागत घटाउन, सरकार कुनै कसर बाँकी राख्दैन । यसका लागि मुलुकमा वृहत रुपमा दोस्रो चरणको आर्थिक सुधार गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ । तेस्रो चरणको सुधार किन आवश्यक छ र कुन क्षेत्रमा सेजनले आफ्ना प्रयासहरु अघि बढाउनेछ भन्ने विश्वास लिएको छु । छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्छ, सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन । बरु आवश्यक नियमन र सहजीकरणको पक्षमा छ । त्यसैले देश तथा विदेशका लगानी कर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु । नेपालमा तपाईहरुको लगानी र सम्पत्तीको सुरक्षा हुन्छ त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री देउवाले छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पारे । उनले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?