प्रदेश अधिवेशनमा होमियो कांग्रेस : गण्डकीमा सभापतिका लागि को–को छन् आकांक्षी ?

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ । आकांक्षीमध्ये उम्मेदवारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेद्वार मानिन्छन् । उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनिसकेका छन् ।

२०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरिसकेका उनी हाल ७५ वर्षको पुगे । यसअघि उनी रामचन्द्र पौडेल पक्षको रुपमा चिनिएका थिए । यद्यपी उनी सबै नेताको आफूलाई आशीर्वाद रहेको दाबी गर्छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका शर्माले आफूले कांग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताए ।

त्यस्तै कास्कीबाट नै उम्मेदवारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहको नै हुन् । उनले विद्यार्थी कालदेखि राजनीति सुरु गरेका थिए । उनी बौद्धिक नेताका रुपमा परिचित रहेका छन् । तर उनी सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्छन् ।

उनी गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेदवारी बनेपनि पराजित भएका थिए । सभापतिको उम्मेदवार घोषणा गर्दै पार्टीलाई स्वतन्त्ररुपमा अघि बढाउन र गण्डकी प्रदेशमा कांग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताए ।

त्यस्तै तनहुँबाट उम्मेदवारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर रहेका छन् । तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन् । उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइरालालगायतको आशीर्वाद रहेको बताए । नेता पौडेलले कांग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताए ।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । उनीसँग कांग्रेसका कन्द्रीय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेका अनुभव छ । उनले देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन् । गण्डकी प्रदेश संगठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडि बढेको उनको भनाइ छ ।

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । काग्रेसका नेताहरुको उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्नेभन्दा बलियो कांग्रेस बनाउन पूर्वसभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन् । उनले कांग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताए ।

कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेशन र प्रदेश प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?