‘परदेशी–२’ अर्काे दशैँमा प्रदर्शन हुने

लोकपथ
611
Shares

काठमाडौं । अत्यन्तै लोकप्रियता प्राप्त गरेको चलचित्र ‘परदेशी’को सिक्वयल ‘परदेशी–२’ ले प्रदर्शन मिति तोकेको छ । अघिल्लो चलचित्रको कारणले नै बहुप्रतीक्षित मानिएको यो चलचित्रले २०७९ को दशैँलाई प्रदर्शन मिति तोकेका हो ।

गायक प्रकाश सपुतले यही चलचित्रमार्फत चलचित्र अभिनयमा डेब्यु गरेका छन् । २०७७ को दशैँमा प्रदर्शन गर्नेगरी चलचित्र छायांकनको काम सुरु गरिएको भए पनि कोरोना महामारी फैलिएपछि रोकिएको थियो ।

आधा मात्र छायांकन सकेर बसेको चलचित्र कोरोनाको पहिलो लहर सकिएपछि बाँकी छायांकन पूरा गरी २०७८ सालको दशैंलाई प्रदर्शन मिति तोकियो ।

तर, फेरि कोरोनाको दोस्रो लहर आएपछि यसपालिको दशैँमा पनि यो चलचित्र प्रदर्शनमा आउन सकेन । नारायण रायमाझीले निर्देशन गरेको चलचित्र परदेशी–२ मा दिलीप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लूलगायतका कलाकारको अभिनय छ ।

नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेका हुन् ।

सुदीप कुँवरको मुख्य सहायक निर्देशनमा तयार भएको चलचित्र परदेशी–२ लाई रमेश बिजीले लेखेका हुन् । चलचित्रका गीतमा बीबी अनुरागीको संगीत रहेको छ भने मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको एक्सन, तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?