एमाले महाधिवेशन : निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक, १८३७ मतसहित अध्यक्षमा ओली विजयी

लोकपथ
231
Shares

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । नयाँ नेतृत्व चयनका लागि गरिएको मतदानमा अध्यक्ष ओली निर्वाचित भएका छन् । ओलीले आफ्ना प्रतिद्वन्द्वी भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १८३७ मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले भने २२३ मत प्राप्त गरेका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७७१ मत प्राप्त गरेर विजयी भएका छन् । उपाध्यक्षमा पराजित घनश्याम भुसालले ७२५ मत ल्याएका छन् ।

महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७४ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०४, छविलाल विश्वकर्मा १८०३ र पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०४, र रघुवीर महासेठले १५०० मत ल्याउँदै सचिव पदमा निर्वाचित भएका छन् ।

सचिवमा पराजित भीम आचार्यले ७८८ सय र टंक कार्कीले ५५९ मत प्राप्त गरे ।वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?