एमालेमा दोहोरिएर नेतृत्व गर्ने ओली तेस्रो नेता

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक शक्तिमा पुनः उदाएका छन् । चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुले एमाले फुटाएर बाहिरिएपछि अहिले पार्टीमा ओलीको एकलौटी राज छ । आफूबाहेक अरुमा एमाले हाँक्ने तागत नै नदेख्ने ओली अन्ततः पार्टी अध्यक्षमा दोहोरिएका छन् । एमालेमा दोहोरिएर नेतृत्व गर्ने ओली तेस्रो नेता हुन् । यस अघि स्व. मदन भण्डारी र माधवकुमार नेपालले दुई/दुई पटक नेतृत्वको जिम्मेवारी सम्हालेका थिए ।

चौथो र पाँचौँ महाधिवेशनबाट मदन भण्डारी महासचिव बनेका थिए भने छैटौँ र सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल महासचिव बनेका थिए । दशौँ महाधिवेशनमा प्रतिस्पर्धी भीम रावललाई भारी मतान्तरले पराजित गर्दै ओलीले दोस्रो कार्याकाल सम्हाल्न पुगेका छन् । मंगलबार सम्पन्न निर्वाचनमा रावलले २२३ मत ल्याउँदा ओलीले १८४० मत ल्याएर विजयी बने ।

एमालेले १०औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनेर सबै प्रतिनिधि सर्वसहमतिमै चुन्ने भने पनि उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेपछि केही अन्योलता छाएको थियो । सोही कारण मंसिर १३ गते तोकिएको महाधिवेशनको डेडलाइन १४ गतेसम्म लम्बियो ।

आठौँ महाधिवेशनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग पराजित भएका ओलीले नवौँ महाधिवशनमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हराउँदै अध्यक्ष पदको बाजी मारेका थिए ।

२०७० माघ महिना संसदीय दलको चुनावमा निवर्तमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै ओली संसदीय दलको नेता बनेका थिए । त्यसबेला सुरु भएको ओलीको विजयको यात्रा महाधिवेशनमा पनि बन्द भएन । झन्डै ४२ वर्षदेखि सक्रिय राजनीतिमा रहेका ओलीले एकै वर्ष पार्टी र संसदीय मोर्चा दुवैको नेतृत्वमा पुगेका थिए ।

वाकपटुतामा माहिर र नेपाली राजनितिका चतुर खेलाडीको रुपमा चिनिन्छन् ओली । १४ वर्ष लामो जेलजीवन भोगेका उनले झापा विद्रोह हुँदै वामपन्थी राजनीति सुरु गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि करिब दुई तिहाइको बहुमतसहित मुलुकको पहिलो प्रधानमन्त्री बनेका थिए ।

२०७२ मा तत्कालीन नेकपा माओवादी केन्द्रसितको एकतापछि उनले झण्डै दुई तिहाइ नजिकको सरकारको नेतृत्व गरे । तर नेकपा विघटन भएर पुरानै रुपमा फर्किएपछि संसदमा उनी एमालेको संसदीय दलको नेताको रुपमा सरकारको नेतृत्व गरिरहेका थिए । संसद विघटनको कदमसँगै ओली आफू मात्रै सरकारबाट बाहिरिनु परेन प्रदेश तहमा समेत नेतृत्व गुमाउन पुगे ।

पहिलो पटक प्रधानमन्त्री हुँदा ओली नेपालको ३८औँ प्रधानमन्त्री थिए भने दोस्रो पटक २०७२ मा ४१औँ प्रधानमन्त्रीको रुपमा चुनिए । उनी २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए भने २०६४ देखि २०६५ सम्म उपप्रधान एवं परराष्ट्र मन्त्री भएका थिए । वामपन्थीबाट प्रधानमन्त्री हुने ओली छैटौँ नेता हुन् ।

को हुन् ओली ?

अध्यक्षमा निर्वाचित ओली एमालेका पुराना नेतामध्ये पर्छन् । २०२२ सालदेखि राजनीतिमा प्रवेश गरी पञ्चायतकालमा निरन्तर १४ वर्ष जेल बसेका ओलीको पार्टीको प्रमुख नहुँदा पनि सधैँ केन्द्रमा रहे ।

माधव नेपाल झन्डै १५ वर्ष महासचिव हुँदा होस् वा झलनाथ खनाल अध्यक्ष, दुवैको कार्यकालमा ओली पार्टीभित्र शक्तिशाली नेताको रूपमा रहे । सामान्यतया मान्छेको मनोविज्ञान सत्ता र शक्तिको पछाडि लाग्ने हुन्छ । ओली पार्टी र सरकार सञ्चालनमा पहिलो नहुँदा पनि उनको पछाडि ठूलो समूह सधैँ हुन्थ्यो । त्यही समूहको बलमा उनी अध्यक्ष बन्न सफल भए ।

ओलीको सबैभन्दा ठूलो शक्ति उनको बोली र अडान हो । तीखो उखानटुक्का जोडेर बोल्ने उनको शैली समकालीन राजनीतिका अन्य नेताभन्दा फरक छ ।

राजनीतिक रूपमा आफ्ना अडानबाट हत्तपत्त पछि नहट्ने र लागेको कुरा स्पष्ट बाल्ने उनको शैली छ । जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया व्यक्ति गर्ने शैलीका कारण उनी बेला–बेलामा आलोचनामा पनि पर्ने गरेका छन् ।

२००८ माघ २१ गते जन्मिएका ओलीले २०२३ सालदेखि राजनीति थालेका हुन् । २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका ओलीले २०३० देखि २०४४ सालसम्म जेल जीवन बिताएका थिए ।

बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा विसं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा ओलीको जन्म भएको थियो । उनको खास नाम खड्गप्रसाद ओली हो ।

२०२८ सालको झापा आन्दोलनका प्रमुखहरुमध्येका एक थिए । ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पहिलो संविधानसभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए । विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट निर्वाचित भएका थिए ।

युवा संघको संस्थापक अध्यक्ष समेत रहेका ओली हाल अनन्तलिंगेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?