राप्रपा महाधिवेशन : डा. लोहनीको समर्थन लिङदेनलाई (वक्तव्यसहित)

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी महाधिवेशनमा राजेन्द्र लिङदेनलाई सहयोग गर्ने भएका छन् ।

आज (मंगलबार) एक वक्तव्य जारी गर्दै अध्यक्ष लोहनीले आगामी महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका लिङदेनको पक्षमा रहेको बताए ।

सहमतिको आधारमा राप्रपाको नयाँ नेतृत्व चयन नभएमा युवालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने मान्यताको आधारमा आफूले लिङदेनलाई समर्थन गरेको बताए ।

‘केही महिना अगाडि मैले राप्रपाको नेतृत्व सहमतिमा पुग्नुपर्छ भन्ने भनाइ राखेको थिए । तर यो सम्भव नभए नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण स्पष्ट रुपमा सार्वजनिक माध्यमबाट व्यक्त गरेको थिए ।

सोही धारणाअनुरुप राप्रपाको नयाँ नेतृत्वमा राप्रपाका पूर्वमहामन्त्री तथा माननीय राजेन्द्र लिङदेनको पक्षमा म उभिएको छु । राप्रपमा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो’, जारी वक्तव्यमा भनिएको छ ।

त्यसैगरी राप्रपाका अन्य दुई अध्यक्षलाई समेत पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन समेत आग्रह गरेका छन् ।

राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुँदै छ । उक्त महाधिवेशनमा कमल थापा र लिङदेनले उम्मेदवारी घोषणा गरिसकेका छन् । यता वर्तमान अध्यक्ष पशुपति शमशेर राणाले भने अध्यक्षमा नउठ्ने घोषण गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?