उम्मेदवारी नै नदिएका भीम रावल केन्द्रीय सदस्यमा विजयी !

लोकपथ
16.2k
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मदेवार डा. भीम रावलले आफूले अध्यक्षबाहेकको पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगको आचारसंहिताअनुसार अध्यक्ष र सदस्यमा उम्मेदवारी दिन पाउने भए पनि आफूले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको बताए ।

एमालेको १०औँ महाधिवेशनअन्तर्गत चितवनको सौराहास्थित मतदानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रावलले सो कुरा बताएका हुन् ।

‘निर्वाचन आयोगले अध्यक्ष र सदस्य दुवै पदमा पाउने भनेपनि मैले अध्यक्षमा मात्रै भनेको थिएँ । तर भित्र जाँदा मैले सदस्यको लिस्टमा मेरो नाम पनि देखेँ । त्यतिबेला पनि सदस्यमा दिएको थिइनँ । तर मैले नचाहाँदा नचाहाँदै फेरि त्यसलाई फेरि विवादित बनाउँछन्’, रावलले भने ।

आफूले सदस्यमा उम्मेदवारी नै नदिएको बताउँदै खुला केन्द्रीय सदस्यमा आफ्नो नाम निस्किए पनि शपथग्रहण नगरेको उनले बताए । त्यस्तै आफूले अध्यक्षमा निर्वाचित भएमा मात्र शपथ लिने बताउँदै आफूलाई कति मत आउला भन्ने अनुमान नगरेको समेत स्पष्ट पारे ।

‘मैले उम्मेदवारी दिएको नै छैन अनि कसरी सदस्यको शपथ गरौँ ? म अध्यक्ष पदमा विजयी भएँ भने सपथ लिन्छु । अरु पदमा त मैले भरेकै छैन’, उनले भने, ‘प्रतिनिधिहरुले मत दिएनन् भने कमिटीभन्दा बाहिर बस्ने कुरा त सामान्य हो मेरा लागि । मैले कति भोट आउला भन्ने अनुमान गरेको छैन ।’

मतदानस्थलमा अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली पक्षले आचारसंहिता उल्लंघन गरेको समेत उनले बताए । निर्वाचनको समयमा पर्चाहरु बाँढ्ने र भोट मागेको भन्दै नेता रावलले त्यसो गरेको प्रति आफूले विरोध जनाएको बताए ।

‘निर्वाचन आयोगको आचारसंहिताअनुसार समूहगत सूची बाँड्न नपाउने भन्ने थियो । मैले निर्वाचन आयोगमा पनि आपत्ति जनाएँ । निर्वाचन आयोग र सुरक्षाकर्मीहरुलाई पनि भनेँ ।’

मतदान सकिएको र अहिले मुचुल्काको काम भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?