एमाले महाधिवेशन : होटल सेभेनस्टारमा सकस, पदाधिकारीमा मात्रै चुनाव गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया लम्बिएको छ । अहिले राति ११ बजे
अन्तिम नामावली प्रकाशन गरिने भएको छ। यसअघि आज राति ११ बजेबाट मतदान शुरु हुने बताइएको थियो ।

केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ । उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् । नेताहरुले पदाधिकारीमा मात्रै मतदान गराउने कोसिस गरिरहेका छन् । सर्वसम्मत केन्द्रीय सदस्यहरु चयन गराउन नेताहरु नै सक्रिय भएका छन् ।

उम्मेद्‍वारी फिर्ता गराउनका लागि जनप्रतिनिधि बनाउनेदेखि सरकारी नियुक्ति दिलाउनेसम्मको आश्वासन दिइरहेका छन् । केन्द्रीय समितिमा सर्वसम्मत गरेर पदाधिकारीमा मात्रै चुनाव गर्ने तयारी भएकाले ढिलाइ भएको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेस गरेका थिए। ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले सोमबार आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन्।

अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् भने भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रिय समितिका लागि सर्वसम्मत भएको छ । सुदूरपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेद्‍वारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ । १९ सदस्यीय पदाधिकारीमा १र१ वरिष्ठ उपाध्यक्ष र महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ ।

अध्यक्षमा केपी शर्मा ओलीलाई वर्तमान उपाध्यक्ष भीम रावलले चुनौती दिँदै छन् भने उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारीका कारण सर्वसम्मत गर्न खोजिएका नेताहरुले मतदानमा भाग्य परीक्षण गर्नुपर्ने अवस्था छ। उता सचिव पदका सात सीटका लागि पनि टंक कार्की र भीम आचार्यसहित ९ जनाको उम्मेदवारी छ।

त्यस्तै प्रदेश १ को खुल्लातर्फका केन्द्रीय सदस्य, सुदूरपश्चिमको खुला र महिला केन्द्रीय सदस्य, दलित खुला, थारु खुला र पिछडिएको क्षेत्रका खुला सदस्यहरुका लागि मतदान हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?