म्याग्दीमा जिप दुर्घटना, वडा सदस्यसहित चार जनाको मृत्यु

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन् । उनीहरु सवै बेगका बासिन्दा हुन् ।

गौमाया रघुगङ्गा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?