एमाले महाधिवेशन : लम्बिँदै निर्वाचन, नेता, कार्यकर्ता र पत्रकार आज पनि रातभर जाग्राम !

चितवन । नेकपा एमालेको चितवनमा जारी १० शौं महाधिवेशन अन्तर्गत सोमबार राति ९ बजे तोकिएको निर्वाचन कार्यतालिका पनि प्रभावित हुने देखिएको छ ।

नेतृत्व चयनका लागि उम्मेदवारी नामावली प्रकाशनमा ढिलाइ भएसँगै निर्वाचन कार्यतालिका प्रभावित हुने देखिएको हो ।
निर्वाचन आयोगका एक सदस्यका अनुसार निर्वाचनको समयावधि दुईघण्टासम्म लम्बिने देखिएको छ । राति ११ बजेबाट मतदान सुरु गर्ने सम्भावना बढेको छ ।

स्रोतका अनुसार नेताहरूले पदाधिकारीमा मात्र चुनाव गराउने तयारी गरेका छन् । त्यसका लागि अहिले केन्द्रीय कमिटी सदस्यका आंकाक्षीलाई व्यवस्थापनको प्रयास भइरहेको छ । नेताहरूले आकांक्षीहरूलाई अन्यत्र व्यवस्थापनको आश्वासन दिएर उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुनेछ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेस गरेका थिए। ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले सोमबार आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन्। केहीमा भने ओलीले प्रस्ताव गरेकाहरू सर्वसम्मत चुनिएका छन्।

ओली आफैं चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नु पर्ने भएको छ। अध्यक्षमा भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्। उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जनालाई चुनौती दिँदै घनश्याम भुसालले उम्मेदवारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?