सुदूरपश्चिम प्रदेश : यसकारण देउवा बलियो

धनगढी । सुदूरपश्चिम प्रदेश वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश हो । यही २४ गते हुनलागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पुनः सभापतिमा दोहोरिन लागेका पार्टी सभापति देउवाको प्रदेशमा उनका प्रिय पात्र मानिएका रमेश लेखक र एनपी साउदको दुई प्यानल रहेको छ ।

केन्द्रमा देउवा पक्ष बनेका दुवै जनाले प्रदेशमा आफ्नो वर्चश्व कायम गराउन आ–आफनै प्यानल खडा गरेका थिए । प्रदेशको तराईका दुई जिल्लामा देउवाका दुई प्यानल रहे पनि सात पहाडी जिल्लामा उनीहरूको प्रभाव न्यून रहेको छ ।

नौवटा जिल्ला रहेको यस प्रदेशका सातवटा जिल्लामा देउवा पक्षका अधिकांश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने बैतडीमा दुवै पक्षका महाधिवेशन प्रतिनिधि बाँडफँट भएका छन् । दिलेन्द्रप्रसाद बडुको पकडक्षेत्र रहेको दार्चुलामा भने देउवा प्यानलका महाधिवेशन प्रतिनिधि निर्वाचित छैनन् ।

प्रदेशको अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा मतगणनापछि विवाद हुँदा मतपरिणाम आउन सकेको छैन । सो निर्वाचन क्षेत्रमा सोमबार पुनः मतदान भई मतगणना भइरहेको पार्टीका प्रवक्ता तथा सचिव वेदप्रकाश तिमिल्सेनाले बताए ।

‘निर्वाचन क्षेत्रको पुनः मतदान गराइएको छ । अहिले मतगणना भइरहेकोले साँझसम्म मतपरिणाम आउनेछ’, उनले भने ।

एक नेताका अनुसार अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा अधिकांश देउवा पक्षकै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्र नम्बर २ मा देउवा पक्षकै वर्चश्व रहेको छ ।

‘यहाँ साउद र लेखकको प्रभाव त होला तर, उनीहरूसँगै भनेर कोही पनि प्रतिनिधि खुलेका छैनन् । सबै देउवा पक्षकै छन्’, डोटीका एक नेताले भने, ‘डोटीको निर्वाचन क्षेत्रमा पाँच÷छ जनाबाहेक अन्य देउवा पक्षकै प्रतिनिधि निर्वाचित भएका छन् ।’

डोटीमा प्रदेशसभा सदस्य भरतबहादुर खड्का, पदमराज जोशी, दिलबहादुर बम, यज्ञराज पाठक, कल्पना सोव र पार्वती चन्द रामचन्द्र पौडेल पक्षका मानिएका छन् ।

देउवाकै गृह जिल्लाका एक पक्षीय टोली काठमाडौंमा अनशनरत भएपछि सो जिल्लामा महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत रूपमै छनोट गरिएको थियो ।

यस्तै, बझाङमा प्रतिनिधिसभा सभापतिसहित २६ जना महाधिवेशन प्रतिनिधिमध्ये १२ जना पौडेल पक्षका महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

प्रदेशको नौ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा कांग्रेसको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि र अन्य तल्ला कमिटीहरूमा देउवा समूहको वर्चश्व देखिएको छ । पाँचवटै निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा देउवा निकट उम्मेदवार विजयी भएका छन् ।

यस्तै जिल्लाभरि निर्वाचनबाट चयन भएका एक सय २५ जना महाधिवेशन प्रतिनिधिमध्ये एक सय १३ जना देउवा निकट छन् । १२ जना महाधिवेशन प्रतिनिधि मात्र संस्थापनइतर पक्षबाट विजयी भएको कांग्रेस नेताहरूले बताएका छन् । वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रको नेतृत्वमा पनि देउवा समूहकै वर्चश्व देखिएको छ । कैलालीमा संस्थापनइतर समूह निकै कमजोर छ ।

यहाँका पाँचमध्ये चारवटा निर्वाचन क्षेत्रमा देउवा निकट स्थानीय नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिको लागि प्रतिस्पर्धामा उत्रिएका थिए । क्षेत्र नम्बर २ मा भने देउवा र पौडेल पक्ष प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा पौडेल पक्ष अन्य क्षेत्रको तुलनामा बलियो रहेको छ ।

गुटको राजनीतिबाट अछुतो हुन नसकेको नेपाली कांग्रेसमा सो पार्टीका जिल्लामा नाम चलेका केही नेता पराजित भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत कैलालीमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनमा पौडेल पक्षका मानिएका नेताहरू पराजित भएका छन् ।

यो जिल्लामा १३० जना महाधिवेशन प्रतिनिधि चयन हुँदा पौडेल पक्षका जम्मा १० जना मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बाँकी १२० जना देउवा पक्षका निर्वाचित भएको नेपाली कांग्रेसका नेताले जानकारी दिएका छन् ।

प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार महाधिवेशन प्रतिनिधिमा पूर्वसभासद् बुद्धिसागर चौधरी पराजित भएका छन् । उनी क्षेत्र नम्बर ३ बाट पराजित भएका हुन । यसैगरी, नेता गोविन्दराज जोशी, फकिरसिंह कडायत, जंगबहादुर साउद महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । जोशी क्षेत्र नम्बर ३, फकिरसिंह कडायत र जंगबहादुर साउद क्षेत्र नम्बर १ बाट पराजित भएका हुन् ।

पूर्वमन्त्री चन्द्रसिंह भट्टराई, पूर्वमन्त्री दीर्घराज भाट र पूर्वसंविधानसभा सदस्य प्यारेलाल रानाले भने महाधिवेशन प्रतिनिधिमा चुनाव नै लडेनन् । नेता भट्टराई क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका थिए । देउवा पक्षका भाट र रानाले भने आफ्नो सट्टा अरुलाई मौका दिएको जनाइएको छ ।

प्रदेशकै दोस्रो ठूलो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा पनि देउवा पक्षकै महाधिवेशन प्रतिनिधिहरूको वर्चश्व रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको सो जिल्लामा देउवा पक्षकै मानिएका साउद र लेखकको भिडन्त थियो ।

लेखकको निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा उनकै प्रतिनिधि निर्वाचित भएका छन् भने साउदको पकड निर्वाचन क्षेत्रमा उनकै महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जनाइएको छ । कञ्चनपुरमा ७८ जना महाधिवेशन प्रतिनिधि रहेकोमा पौडेल पक्षका झण्डै १८ जना निर्वाचित रहेको जनाइएको छ ।

‘केही व्यक्ति खुलेका छैनन् । पौडेल पक्षका महाधिवेशन प्रतिनिधि बढ्न पनि सक्छन्’, एक नेताले भने ।

महाधिवेशन प्रतिनिधि मात्र होइन प्रदेशका नौ जिल्लामध्ये चार जिल्लामा सभापति पदमा देउवा पक्षका सभापति निर्वाचित भएका छन् । प्रदेशको कञ्चनपुर, डोटी, डँडेल्धुरा र बझाङमा जिल्ला सभापतिमा देउवा पक्षकै सभापति निर्वाचित भएका हुन् ।

देउवा प्यानलबाट बझाङमा खडक बोहरा, डँडेल्धुरामा भीमबहादुर साउद, डोटीमा नरेन्द्रबहादुर सिंह र कञ्चनपुरमा पदम बोगटी निर्वाचित भएका हुन् । बोगटी देउवा प्यानलमै भए पनि लेखक निकट मानिएका छन् ।

जिल्ला सभापतिमा प्रदेशमा पौडेल पक्षका बाजुरामा रामसिंह रावल, बैतडीमा चतुरबहादुर चन्द र दार्चुलामा ललितसिंह बोहोरा निर्वाचित भएका हुन् । बाजुरामा सभापति पदमा पौडेल पक्षका सभापति आए पनि महाधिवेशन प्रतिनिधिमा देउवा पक्षकै वर्चश्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?