सरकारले खरिद गर्न सकेन धान : किसानहरूले राहत कहिले पाउने ?

धनगढी । किसानहरूले यस वर्ष उत्पादन गरेको धान सरकारले खरिद गर्न सकेको छैन ।
सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, धनगढीले अझैसम्म पनि धान खरिद सुरु गर्न नसकेको हो ।

कम्पनीको केन्द्रीय कार्यालयले नै अहिलेसम्म धान खरिदको लक्ष्य र बजेट उपलब्ध नगराएका कारण धान खरिदकार्य सुरु गर्न नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले धान खरिदमा ढिलाइ गर्दा किसानहरू व्यापारीहरूलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत वर्ष कार्तिक १८ देखि नै धान खरिद गर्न सुरु गरेको थियो । यस वर्ष असोजको अन्त्य र कार्तिकको सुरुमा परेको बेमौसमी वर्षाका कारण धानखेतीमा ठूलो क्षति पुगेको छ । कम्पनीले धानको गुणस्तर हेरेर धान खरिद गर्ने भनेको भए पनि केन्द्रीय कार्यालयबाट परिपत्र नआउँदा धान खरिद गर्न नसकेको कम्पनीका धनगढी कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् ।

‘अहिलेसम्म धान खरिद सुरु भइसक्नुपर्ने थियो । केन्द्रले परिपत्र नगरेका कारण हामीले काम अघि बढाउन सकेका छैनौँ’, कम्पनीका धनगढी कार्यालय प्रमुख बस्नेतले भनिन्, ‘यही साताभित्र खरिद अघि बढाउने भन्ने मौखिक जानकारी आएको छ ।’

यस वर्ष सरकारले धानको न्यूनतम समर्थन मूल्य गत वर्षको तुलनामा ह्वात्तै बढाएकोले समयमै कम्पनीले धान खरिद प्रक्रिया अघि बढाएको भए किसानहरूले लाभ पाउन सक्ने अवस्था थियो ।

‘यस वर्ष सरकारले धानको राम्रो समर्थन मूल्य तोकेको छ । तर, मंसिरको दोस्रो सातासम्म पनि कम्पनीले धान खरिद नगरेका कारण साना तथा मझौला किसानहरूले सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्’, कैलारी गाउँपालिकामा गल्ला पसल चलाइरहेका स्थानीय व्यापारी किसान चौधरीले भने, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै खरिद गरेको भए कम्पनीलाई लक्ष्यअनुसारको धान संकलन गर्न सहज हुने थियो ।

सरकारले यस वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार सात सय ५१ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार नौ सय दुई रुपैयाँ तोकेको छ । तर, धानको बढी उत्पादन क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशको तराईका जिल्ला कैलाली र कञ्चनपुरका किसानहरू अहिले आठ सयदेखि दुई हजार रुपैयाँ प्रतिक्विन्टलका दरले धान बिक्री गरिरहेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ मझगाउँका किसान भौना चौधरीले गहुँखेतीका लागि आवश्यक खर्च जोहो गर्न १२ बोरा धान बिक्री गरेको बताए । उनले प्रतिक्विन्टल एक हजार रुपैयाँका दरले गल्ला व्यापारीलाई धान बिक्री गरेको बताए ।

गहुँखेतीका लागि तयारी गरिरहेको खेतबारी देखाउँदै उनले भने, ‘बजारमा अहिले डीएपी प्रतिबोरा एक हजार पाँच सय रुपैयाँ रहेको छ । धान बेचेर पनि मैले मल खरिदका लागि पैसा बनाउन सकेको छैन ।

सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा पुर्याएको क्षतिले गर्दा मारमा परेका किसानहरूलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । तर, अहिलेसम्म किसानलाई उपलब्ध गराउन सकेको छैन ।

‘न सरकारले हाम्रो धान किन्छ । न घोषणा गरेको राहत दिन सकेको छ’, उनले भने, ‘गहुँ छर्दा आवश्यक पर्ने मलखाद, खेत जोत्न ट्याक्टर प्रयोग, बीउ किन्न पनि हामीलाई पैसा छैन । आवश्यक परेको बेला नदिई पछि दिँदा हामीलाई के फाइदा होला ?’

सरकारले कार्तिकको दोस्रो सातादेखि नै धानबालीमा पुगेको क्षतिको विवरण संकलन सुरु गरेको थियो ।

खाद्य व्यापार कम्पनीले गत वर्ष ६५ हजार क्विन्टल धान खरिद गरेको थियो ।

कैलालीमा गोदाम अभाव

कम्पनीले तीन वर्षयता कैलालीका दुई ठाउँबाट धान खरिद गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको धनगढी कार्यालयका अनुसार धनगढीस्थित मोहनपुर गोदाम र टीकापुरस्थित सत्ती गोदामबाट धान खरिद गर्दै आएको छ ।

२०७५ अघि कम्पनीले भजनी, टीकापुर, जोशीपुर, धनगढीलगायतका छवटा स्थानबाट धान संकलन गर्दै आएको थियो ।

गत वर्ष कम्पनीले कैलारी गाउँपालिकाबाट पनि संकलन गर्ने तयारी गरे पनि आवश्यक गोदाम नपाउँदा संकलन गर्न सकेको थिएन ।

कम्पनीका धनगढी कार्यालय प्रमुख बस्नेतले भनिन्, ‘हामीसँग धान संकलन गर्न गोदाम पनि अभाव रहेको छ ।’

उनका अनुसार मोहनपुरमा १०÷१० हजार क्विन्टल क्षमताका चारवटा गोदाम रहेका छन््, तर त्यसमध्ये दुईवटा गोदाम विश्व खाद्य कार्यक्रमले प्रयोग गरिरहेको छ ।

त्यस्तै, टीकापुरमा पाँच हजार क्विन्टल क्षमताको गोदाम रहेको छ । उनले कम्पनीसँग भएका गोदामहरू अहिले जीर्ण बन्दै गएको बताए ।

उनले भने, ‘मुख्य कार्यालयका यी गोदाममा धान राख्न सक्ने अवस्था छैन । टीकापुरको गोदाममा पनि वर्षामा पानी चुहिने समस्या छ ।’

उनले केन्द्रीय कार्यालयसँग बारम्बार पर्याप्त गोदामको व्यवस्थाका लागि आग्रह गरिएकोे बताइन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग टीकापुरमा पाँच बिघा जमिन रहेको छ ।

उनले भनिन्– हामीसँग जग्गा भएर पनि गोदाम बनाउन आनाकानी गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?