आफ्नो उम्मेदवारीको औचित्यबारे प्रस्ट्याउँदै रावलले भने- ‘दुई दिनसम्म ओलीसँग कुनै छलफल भएन’

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले आफूसँग अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि छलफल नगरेकोे बताएका छन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको क्रममा सौराहामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले अध्यक्ष ओलीसँग सर्वसहमतिका विषयमा कुनै पनि छलफल नभएको स्पष्ट । काठमाडौंमै रहेका बेला स्थायी कमिटी बैठकमा महाधिवेशनको विषयमा छलफल भएपनि अन्य छलफल नभएको बताए ।

‘हिजो र अस्ति हाम्रो पार्टी अध्यक्षजीसँग कुनै पनि छलफल भएन । काठमाडौंमा स्थायी कमिटीको बैठकमा १०औँ राष्ट्रिय महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल भएको थियो । त्यस बेला उहाँले खास केही पनि भन्नु भएको थिएन ।’ रावलले भने ।

देशभरबाट एमालेको महाधिवेशनका लागि आएका प्रतिनिधिहरुको मतदान गर्ने सार्वभौमिक अधिकार भएको बताउँदै आफूले उम्मेदवारी दिएको बताए । निर्वाचन बेगर गएमा लोकतान्त्रिक प्रणाली कमजोर हुने बताउँदै आफूले त्यस विषयमा अध्यक्षमण्डलको बैठकमा समेत राखेको जानकारी गराए ।

‘हाम्रा प्रतिनिधिहरु जो महाधिवेशनमा होमिएका छन् उहाँहरु महाधिवेशनमा उम्मेदवार हुन पाउने उहाँहरुको सार्वभौमिक अधिकार हो ।’ रावलले भने, ‘त्यसलाई कुनै बन्देज लगाउन मिल्दैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । त्यो लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ भन्ने कुरा मैले अध्यक्षमण्डलको बैठकमा स्पष्ट रुपमा राखेको थिए ।’

साथै उनले आफ्नो उम्मेदवारीको औचित्य स्पष्ट समेत स्पष्ट पारेका छन् । यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको नेता रावलले राष्ट्रिय शक्तिहरुलाई एकत्रित गर्नेदेखि लिएर राष्ट्रिय नीतिहरुका विषयमा समेत घोषणापत्रमा उल्लेख गरेको बताए ।

‘देशको राष्ट्रियतासँग सम्बन्धित छन्, प्राकृतिक स्रोत साधनसँग सम्बन्धित छन्, राष्ट्रमा भएका विकृती भ्रष्ट्राचार हटाउने कुरासँग सम्बन्धित छन् । हाम्रो स्वतन्त्र परराष्ट्र मामिलासँग सम्बन्धित छन् र हाम्रो पार्टीलाई पद्धती विधिगत रुपमा सञ्चालित बनाउने कुरा सम्बन्धित छन् ।’ उनले भने, ‘र देशका राष्ट्रिय शक्तिहरु वामपन्थी शक्तिहरुमा भएको तिक्तताहरु न्यून गर्ने र राष्ट्रिय शक्तिहरु एकीकृत गर्ने सवालहरुमा अगाडी कसरी बढ्न सक्छन् भन्ने कुराहरुमा पाइला चाल्ने कुराहरुमा सम्बन्धित छन् ।’

सर्वसहमतिको लागि आफू मात्रै नभए अन्य नेताहरु समेत तयार नरहेर उम्मेदवारी दिएको बताएका छन् । दुई दिनसम्म ओली पक्षले छलफललाई कुनै तिव्रता नदिएको बताउँदै मध्यरातमा मात्रै सहमती गर्नु आपत्तिजनक रहेको बताए ।

‘दुई दिनसम्म केही नगर्ने र रात परेपछि प्रतिनिधिहरुलाई रातभर सुत्न नदिने त्यस्तो खालको कुराहरुको पनि आलोचना गरेको छु ।’ रावलले भने ।

सर्वसहमतिमा गएर मात्रै एकता नहुने बताउँदै निर्वाचनमा गए पनि एकता नतोडिने बताए ।
‘निर्वाचन हुँदैमा एकता नहुने भन्ने भए त हामीले कुनै पनि आम निर्वाचन गर्नु भएन नि । यो मान्यता नै गलत छ । लोकतन्त्रमा अन्यथा हुने भनेको नै कानुन विधि मिचिएपछि हो ।’ रावलले भने ।

अध्यक्ष ओलीले उपाध्यक्षमा रहन ओलीले आग्रह गरेपनि आफूले अस्वीकार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?