एमाले महाधिवेशन : कर्णाली भूगोलबाट केन्द्रीय सदस्यमा योगेन्द्र शाहीको उम्मेदवारी

लोकपथ
936
Shares

काठमाडौं । योगन्द्र शाहीले कर्णाली भूगोल खुलाबाट नेकपा एमाले १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टी विभाजन भएसँगै एकताको पक्षमा उभिएर कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएका शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

पार्टी एकतालाई थप सुदृढ पार्न सिद्धान्त, आदर्श, निष्ठा र मूल्य मान्यताको राजनीतिका लागि सक्षम युवा नेतृत्वको आवश्यकता खड्किएको बताउँदै आफूले उम्मेदवारी दर्ता गरेको शाहीले बताएका छन् । गतिशील पार्टी निर्माणका लागि युवा नेतृत्वको आवश्यकतालाई ध्यानमा राखेर अमूल्य मतदान गरी आफूलाई विजयी गराइदिन शाहीले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध समेत गरेका छन् ।

१८ वर्षको उमेरमा सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति भई विसं २०५१ सालमा पूर्णकालीन राजनीतिमा प्रवेश गरेका शाही विसं २०५५–२०६१ सम्म अनेरास्ववियुको प्रचार विभाग, संगठन विभाग र विदेश विभाग प्रमुख भएर उनले विद्यार्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका छन् ।

विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष र एसियाली राजनीतिक पार्टीहरुको संगठन (आइक्याप)मा संलग्न भई विश्वका ६० भन्दा बढी देशमा प्रतिनिधि तथा वक्ताका रूपमा शाहीले सहभागिता जनाए उनले विसं २०६७–२०६९ सम्म नेपाल लोकतान्त्रिक मञ्च, युरोपको संस्थापक संयोजकको भूमिका समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

युथ भिजन–२०२५’ निर्माण कार्यदलको संयोजक भएर समेत सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका शाहीलाई पार्टीमा विषयवस्तुमा गहिरो अध्ययन भएको बौद्धिक नेताका रूपमा चिनिन्छ ।

उनले जवाहरलाल नेहरु विश्वविद्यालय, भारतबाट क्षेत्रीय विकास र प्राकृतिक स्रोत साधन व्यवस्थापनमा एमफिलसम्मको अध्ययन पूरा गरेका छन् । शाहीले वाम राजनीति, विकास, भूमि तथा प्राकृतिक स्रोत व्यवस्थापन आदिबारे विभिन्न खोजमूलक लेख तथा पुस्तकहरू समेत प्रकाशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?