महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति 

लोकपथ
2.2k
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

एमालेको विधान महाधिवेशनले केन्द्रीय कमिटीमा एक तिहाइ सुनिश्चित गरेपनि केन्द्रीय सदस्यबाहेक पदाधिकारीमा महिलाहरुको स्थान कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

राष्ट्रिय महाधिवेशनस्थल सौराहामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तुम्बाहाङफेले  भनिन्, अर्को पक्ष भनेको हामी अहिले जुन निर्वाचन प्रक्रियामा अगाडि बढिरहँदा एक तिहाई महिलाहरु केन्द्रीय कमिटीमा सुनिश्चित छ । तर हामीले पदाधिकारीमा पनि महिलाहरुको सहभागितामा वृद्धि हुनुपर्छ भनेका छौँ । तर अहिले नाम प्रस्तावनामा त्यस्तो देखिँदैन । यसले के देखाउँछ भने  हामीले अभ्यास खाली केन्द्रीय कमिटीका सदस्यहरु महिला बनाएर मात्रै जुन किसिमको नेत्तृत्व विकास हुनुपर्ने हो त्यसमा टेवा पुगेको छैन । त्यसैले यसतर्फ नेत्तृत्वको ध्यानाकर्षण गराउन खोजेका थियौँ । तर अभ्यासमा त्यो हुन सकेको पाइँदैन।’

लामो समय बहस गर्दा पनि महाधिवेशनमा महिलाको सहभागिता कमि देखिएको भन्दै वर्तमान नेतृत्वले त्यसलाई सच्याएर अघि बढ्नुपर्नेमा तुम्बाहाङफेको जोड रहेको छ । महिला र पुरुष समान हो भन्ने मानसिकता परिवर्तन नभएसम्म नेतृत्वमा महिलाहरु आउन नसक्ने उनले बताइन् ।

‘पुरुषभन्दा महिला कुनै करामा कम छैन । हामीले एउटै काम गर्दा पनि महिलाको नेतृत्व सहभागितामा धेरै नै कमि कमजोरी देखिएको छ । त्यसलाई तत्काल सच्याउनु पर्छ । त्यसका लागि हाम्रो दिमाग र सोचाई परिवर्तन गरिनुपर्‍यो । दिमागमा भएका सोचलाई महिला र पुरुष समान हो भन्ने कुरालाई स्वीकार्न सक्दैनौँ तबसम्म हाम्रो नेत्तृत्व महिला र पुरुषको समान सहभागिता देखिदैन ।’ उनले भनिन् ।

अहिलेको महाधिवेशनले महिलाहरुलाई नेतृत्वमा ल्याएर सोच परिवर्तन गर्न जरुरी रहेको उनको जोड रहेको छ ।

‘यो नेपालको महिला आन्दोलनकै दुर्भाग्य हो । हामीले महिला आन्दोलनलाई सशक्त बनाएर अगाडि लैजान पितृसत्तात्मक सोचलाई अन्त्य गरेर अगाडी जानुपर्ने कुरा हामीले उठाइरहेका छौँ । महिला आन्दोलन कहाँसम्म पुग्यो र हाम्रो पितृसत्तात्मक सोच कसरी कहाँसम्म किनारा लगाउन सक्यौँ भन्ने एउटा मापक यन्त्र अहिलेको अधिवेसनले हाम्रो सोच परिवर्तन गर्न अझै कसरत गरिनु आवश्यक देखाएको छ ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?