एमाले महाधिवेशनले महँगियो सौराहा : होटलहरूको ब्रह्मलुट

चितवन । बजारमा सामान्य होटलमा दुधको चियाको मूल्य कति होला ? तपाईँले सोच्नुभएको होला– २०, ३० वा ३५ रुपैयाँ । यदि यस्तै सोचिराख्नुभएको छ भने तपाईँ फेल खानुभयो ।

चितवनको सौराहाका सामान्य होटलहरूमा पनि दुध चियालाई ४० रुपैयाँ तिर्नु पर्छ । अनि कालो चियाको मूल्य ३० रुपैयाँ ।

नेकपा एमालेको जारी १०औँ महाधिवेशनले सौराहा बजार महँगिएको हो । सौराहाको गैँडाचोकमा सञ्चालित सुप्रिम खाजाघरले त महाधिवेशनका लागि भनेर अलग्गै मेनु बनाएको छ ।

नाम बताउन नचाहेका सञ्चालकले सामान्य अवस्थामा भन्दा पाँच रुपैयाँ मात्रै मूल्य बढाएर नयाँ मेनु बनाएको दाबी गरे । यद्यपि मल्लुचोकमा भेटिएका स्थानीय विकल चौधरीले भने सौराहामा सामान्यतः कालो चियाको मूल्य १५ देखि २० रुपैयाँ र दुध चियाको मूल्य २० देखि २५ रुपैयाँ रहेको बताए ।

त्यसैगरी एउटा अण्डासहित आधा प्लेट चनाको मूल्य ११० रुपैयाँ तोकिएको छ भने सादा खाना सेटको ३ सय रुपैयाँ, चिकेन खाना ३ सय ८०, मटन खानाको ४ सय ५० रुपैयाँ तोकिएको छ । उसिनेको एउटा अण्डालाई ५० रुपैयाँ लिनेगरेका छन् । जब कि काठमाडौँमा समेत २५ रुपैयाँमा अण्डा खान पाइन्छ ।

महाधिवेशनमा सहभागी हुन महोत्तरीबाट आएकी प्रमिला ढुंगानाले सौराहाको मेनु देखेर अचम्म लागेको बताइन् । महाधिवेशनमा आउने पाहुनाहरूलाई स्वागतस्वरूप सरल मूल्यमा सेवा दिनुपर्नेमा व्यवसायीहरूले मौका छोप्नु गलत भएको टिप्प्णी गरिन् ।

साँझपख सेकुवामय देखिन्छ सौराहा । उनीहरूले पनि उपभोक्ता ठग्ने मौका गुमाएका छैनन् । सेकुवामा व्यापारीले प्रतिप्लेट एक सयदेखि २ सय रुपैयाँसम्म भाउ बढाएका छन् ।

सेकुवा खाएपछि संखुवासभाका राजु शेर्पाले टिप्प्णी गरे, ‘खाइहालियो, भाउ सुन्दा त अचम्म लाग्यो ।’

सडकव्यापारी र खुद्रा पसलहरू मात्रै होइन ठूला व्यापारीहरूले समेत सेवा तथा वस्तुको भाउ बढाएका छन् । सौराहा आसपासका होटल तथा लजहरूले मनोमानी ढंगले शुल्क असुलिरहेका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक होटल व्यवसायीले भने, ‘कार्यक्रम उद्घाटनका दिन १५ सयको कोठालाई ७ हजार रुपैयाँसम्म लिएका छन् ।’

सौराहामा ६ हजार ५ सय होटल छन् । धेरैजसो होटलहरू आयोजक नेकपा एमालेले बुक गरेको छ । त्यस कारण पार्टीको पहँुचबाहिरका आम कार्यकर्ता, पत्रकार तथा सर्वसाधारणले महँगो मूल्यमा बास बस्नुपरेको हो ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराईले यसअघि होटल व्यवसायीहरूले करिब ५० प्रतिशत छुट दिएको बताएका थिए । संघले ‘ए’ वर्गका होटलको एउटा कोठालाई प्रतिदिन ४५ सय, ‘बी’ वर्गलाई २५ सय र ‘सी’ वर्गलाई १५ सय रुपैयाँ तोकेको छ ।

कोरोना भाइरसका कारण लामो समय शिथिल यहाँका होटल व्यवसायीले एमाले महाधिवेशनलाई मौका ठानेका छन् । सौराहामा चर्चित जीप तथा हात्ती सफारीको मूल्य पनि मनोमानी रूपमा तोकिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज सफारीका लागि प्रतिव्यक्ति २ हजारदेखि २ हजार २ सयसम्म र सामुदायिक वन सफारीका लागि प्रतिव्यक्ति एक हजारदेखि एक हजार २ सय रुपैयाँसम्म लिन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?