राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि भारत लैजाने

काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि भोलि भारत लैजाने तयारी गरिएको छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका  घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन्  ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन्  । उनको  उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए  ।

“हाम्रो अस्पतालमा भएको सबै प्रविधि प्रयोग गरेर उहाँको उपचार ग¥यौँ, तर पनि अलिअलि रक्तस्राव भइरहेको छ”–उनले भने, “साना आन्द्राको कुन भागबाट रक्तस्राव भइरहेको छ । त्यो पत्ता लगाउने उपकरण नभएकाले रक्तस्राव रोक्न हामीलाई समस्या भयो । त्यसैले थप उपचारका लागि भारत लैजान सुझाव दिएका हौँ ।” उनका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालसँग छैन ।

उनले  घिमिरेको पहिलेको भन्दा स्वास्थ्य अवस्था राम्रो भएको बताए  । विसं १९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उनलाई भारत लैजाने तयारी गरिएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिएका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?