प्रदेशको अधिकार सुनिश्चित गराउन सभापतिमा उम्मेदवारी : उपसभापति निधि

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको बहुमतको एकल सरकार बनाउन सभापति बन्न चाहेको बताएका छन् । धनुषा क्षेत्र–३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको आज नगराइनमा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउन आफू सभापति बन्न खोजेको उल्लेख गरे ।

“अघिल्लो निर्वाचनमा कांग्रेसले बहुमत नपाउँदा कम्युनिष्टको सरकार बन्यो, तीन वर्षभित्रै कम्युनिष्ट सरकारले मुलुकलाई सधैँ अस्थिर बनाउँदै तहसनहस पारेको अवस्था छ । कांग्रेसको एकल सरकार बनाउन म सभापति बन्न चाहेका हुँ”, उनले भने, “संविधानले प्रदेश प्रहरीको व्यवस्था गरेको छ, निजामती सेवाको अधिकार दिएको छ तर यी सबै अधिकार प्रदेशले प्रयोग गर्न पाइरहेका छैनन् । प्रदेशको अधिकार सुनिश्चित गर्नतर्फ अहिलेसम्म कसैले ध्यान दिनसकेको छैन । त्यसका लागि पनि म सभापति बन्न चाहेको छु ।”

उपसभापति निधिले मधेशी, दलित, जनजाति, मुस्लिमलगायत उत्पीडित वर्गको अधिकार सुरक्षित गर्न संविधान संशोधनमा जोड दिए । “अहिलेको लोकतान्त्रिक गणन्त्रात्मक संविधानलाई कायम राख्दै संविधान संशोधन गर्न चाहेको छु”, उनले भने, “संविधान संशोधनका लागि कांग्रेसले त आधिकारिक निर्णय नै गरिसकेको छ । कम्युनिष्टले मानेका छैनन् । यी सबै कुराका लागि पनि नेतृत्व परिवर्तन जरूरी छ ।”

प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री एवं कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, कांग्रेस केन्द्रीय सदस्य मिनाक्षी झा, सांसद स्मृतिनारायण चौधरी, प्रदेश २ का प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, प्रमिला दासलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?