विदेशी पर्यटकको नजरमा ठमेल : ब्युटिफुल बट अनम्यानेज्ड !

विदेशी पर्यटकको लागि आकर्षक गन्तव्य हो, काठमाडौँस्थित ठमेल । साँझ पर्दै गएपछि झनै सुन्दर देखिने स्थान हो यो । प्रायः दिउँसो सुनसान हुने यो शहर अन्य शहर निदाएपछि व्युझिन्छ । त्यसैले ठमेलले रात्री मनोरञ्जनको मुख्य थलोको रुपमा आफ्नो पहिचान बनाएको छ ।

विभिन्न देशका कन्टिनेन्टल फूड, डान्सबार, रेष्टुरेन्ट, डिस्को, गजल, दोहोरी, ह्यान्डमेड सामाग्रिका पसलहरु ठमेलमा बाक्लै छन् । गल्लीगल्लीमा खुलेका पसलको संख्या करीब ९ सयको हाराहारीमा छ । साना ठूला होटल र गेष्ट हाउसको सङ्ख्या करीब २ सय छ ।

रेष्टुराँ र बारको सङ्ख्या पनि सयभन्दा बढी छ भने त्यति नै सङ्ख्यामा कार्गो कम्पनीले आआफ्ना सेवा दिइरहेका छन् । ठेट नेपाली (नेवारी, थकाली आदि समेत) चाइनिज, थाई, इटालियन, इण्डियन, मेक्सिकन, कण्टिनेण्टल आदि सबै खाले परिकार चाख्नको लागि गतिलो गन्तव्यको रुपमा ठमेललाई लिईन्छ । 

विभिन्न राजनीतिक परिवर्तन सँगै व्यवसायिक अनि व्यापारिक हबका रुपमा परिचित हुने  अपेक्षा गरिएको ठमेलमा राम्रा र नराम्रा पाटाहरु बरोबर छन् ।

विदेशी भन्छन्, सार्वजनिक शौचालय (पब्लिक ट्वाईलेट), फोहोर फ्याँक्ने डस्टबिन, अव्यवस्थित सडक, धुँवा र धुलाम्य सडक, गजगज हिलो, पोष्ट बक्स, हुलाक टिकट, करेन्सी एक्सचेन्ज, साँघुरो पार्क, लथालिंग पाराले टाँगिएका तारजस्ता कारणहरुले गर्दा विदेशी पर्यटकले ‘ठमेल’ आफूले बनाएको ‘ईमेज’ भन्दा फरक पाउँदा रहेछन् । त्यसैले उनीहरु ठमेल ‘अनम्यानेज्ड’ भएको बताउँछन् ।

 व्यवसायीले आफ्नो पसल वा सोरुममा केही हदसम्म सुविधा दिन खोजे पनि सार्वजनिक स्थलमा भने न्युनतम सुविधा पनि पाउन सकिँदैन ।

यद्यपी रिर्पोटिङका क्रममा ठमेल पुगेको लोकपथ डटकम अनलाईन टिमसँग कुराकानी गरेका केहि पर्यटकले ठमेलको वाईफाई क्याफे, ठमेलबासिको शालीन स्वभाव, आतिथ्यता गर्ने शैली, बहुजाति, बहुभाषी, बहुसंस्कृतिका साथै विभिन्न देशका मानिसहरु एउटै सहरमा हिँडेको देख्न सकिने भएका कारण आफूहरुलाई ठमेलको बसाई मनपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?