नवलपरासी–पूर्वको कांग्रेस क्षेत्रीय अधिवेशन रोचक : दुई पटक गणना गर्दा पनि मत परिणाम बराबर

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा क्षेत्रीय सभापतिको मत गणना गर्दा दुई पटकको मतपरिणामा बराबरी आएको छ ।

गत मंगलबार सम्पन्न भएको मतदानमा क्षेत्रीय सभापतिका प्रत्यासी जगत कार्की र सूर्य गुरुङले समान ३९४ मत प्राप्त गरेपछि शनिबार पुनः मतगणना गरिएको थियो । शनिबार गरिएको पुनः मतगणनामा पनि दुवै उम्मेदवारको मत बराबरी आएको नेपाली कांग्रेसका सहायक निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जानकारी दिए ।

उम्मेदवारको मत बराबर आएको अवस्थामा गोलाप्रथाबाट विजयी उम्मेदवारको छिनोफानो गर्नुपर्ने विधान रहे पनि विरोध र असन्तुष्टिपछि उम्मेदवारको आग्रहमा शनिबार पुनः मतगणना भएको उनले बताए।

पुनः मतगणनामा पनि मत बराबर आएपछि अब भने गोलाप्रथाबाटै क्षेत्रीय सभापतिको टुङ्गो लगाउने गरी प्रक्रिया अगाडि बढाइने सहायक निर्वाचन अधिकृत कँडेलले जानकारी दिए ।

क्षेत्र नं २ को सभापतिमा टुङ्गो नलागेपछि जिल्लाको अधिवेशन नै पर धकेलिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जिल्ला अधिवेशन भने यही मङ्सिर १९ र २० गते हुनेगरी तयारी थालिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?